एनआरएनको विवाद उत्कर्षमा : महतो समूहले तीन अध्यक्ष बनाउने तयारीपछि घले समूह परराष्ट्रमा

एनआरएनको विवाद उत्कर्षमा : महतो समूहले तीन अध्यक्ष बनाउने तयारीपछि घले समूह परराष्ट्रमा

काठमाडौँ : पदका लागि बढेको विवादले गैर आवासीय नेपाली सङ्घ विभाजित हुने भएपछि त्यसलाई रोक्न संस्थापक अध्यक्ष उपेन्द्र महतो समूहले तीन अध्यक्ष हुने तयारी गरिरहेका छन्। उनीहरूले विधान संशोधन गरेर अहिले जो-जसले अद्यको दावेदारी गरेका छन् उनीहरूलाई पालैपालो मौका दिने गरी विधान संशोधन गर्ने तयारी गरेका हुन्।

तर अर्का संस्थापक तथा पूर्व अध्यक्ष शेष घले भने यो समूहमा छैनन्। उनले यस अगाडि नै अलग्गै एनआरएनको निर्वाचन गरेर विनोद कुँवरलाई अध्यक्ष घोषणा गरिसकेका छन्। महतो, जिबा लामिछाने अनि भवन भट्ट समूहले भने शनिवारबाट १० औँ महाधिवेशन सुरु गरेका छन्।

घलेले मार्च २४ मै आफ्नो समूहको महाधिवेशन गराएर कार्यसमिति नै चयन गरिसकेका छन्। यता महतो समूहले विधान संशोधन गर्ने तयारी गरेपछि घले समूहका अध्यक्ष कुँवर समूहले आफ्नो समूहको महाधिवेशनले पारित गरेको निर्णय सहित विधान संशोधन स्वीकृतिका लागि आइतबारै परराष्ट्र मन्त्रालय गएको छ।

उनीहरूले संशोधित विधानलाई स्वीकृतिका लागि निवेदन दिएका हुन्। यता हिमालयन होटलमा जारी अर्को समूहले भने विधान संशोधनको गृहकार्य गरिरहेको छ।

घले समूहले अर्थमन्त्री लगेर सम्मेलनको उद्घाटन गराएको थियो भने यता महतो समूहले भने विवादित सम्मेलनमा राष्ट्रपतीलाई प्रमुख अतिथि बनाएर सम्मानित संस्थालाई गैर आवासीय नेपालीको आन्तरिक विवादमा साक्षी बनाएका थिए।

९ औँ सम्मेलनमा कुमार पन्त र कुल आचार्य नेकपा र कांग्रेसको उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रिएदेखि नै एनआरएनमा विभाजन सुरु भएको थियो। कांग्रेसको समर्थनमा एनआरएनमा वर्चस्व बढाउन र नेपालमा व्यवसाय फैलाउन सक्रिय जिबा लामिछानेले ९ औँ महाधिवेशनमा पन्तलाई साथ दिँदा आचार्य पराजित भए।

१० औँ महाधिवेशनमा समेत आचार्यले उम्मेदवारी घोषणा गरे। उता पन्त समूहले भने डा बद्री केसीलाई उम्मेदवार बनाए। सम्मेलनका मतदाता चयन गर्दा राष्ट्रिय समन्वय परिषद्मा जापानमा धाँधली भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि विवाद चर्किँदै सम्मेलनै स्थगित हुन पुगेको थियो।

विवाद समाधान गरेर सम्मेलन आयोजना गर्न संस्थापकहरूको समूह बनाए पनि उनीहरू उम्मेदवार अनुसार विभाजित हुँदा विवाद समाधान हुन सकेन। घले एक्लै अर्को समूहतिर लागे। पछि महतोसहितको समूहले केसी र आचार्यबिच कार्यकाल बाड्नेगरी सहमति गरेका थिए। पछि फेरि तीन अध्यक्ष बनाउने प्रयास गरेका छन्।

चैत १३, २०७८ आइतबार १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।