
चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई शंकाको दृष्टिकोणमा हेर्नु हुँदैन्ः प्रवक्ता महत

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरणा महतले चिनियाँ विदेशमन्त्री वाङ यी को भ्रमणलाई शंकाको दृष्टिकोण हेर्न नहुने बताएका छन्। पार्टी केन्द्रीय समितिकाे बैठकमा सहभागी हुन सानेपा पुगेका महतले संचारकर्मीसँग बोल्दै चीन एक असल छिमेकी मित्रराष्ट्र भएकाले भ्रमणलाई शंकाको दृष्टिकोणले हेर्न नहुने बताएका हुन्।
उनले भने, 'एमसीसी भर्खरै पास भएको छ। उहाँको भ्रमणलाई शंकाको दृष्टिकोणले हेर्न हुँदैन।'
नेपाल र चीनबीच ९ बुँदे सहमति भएको भन्दै चाँडै सहमति कार्यान्वयन हुने उनको भनाइ छ। उनले भने, 'हामीले चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय सम्बन्धका साथै विकास सहयोग र अन्य सहयोगका विषयमा पनि छलफल गरेका छौं।'
उनले अन्य दलका नेताहरूसँगको छलफलका बारेमा कुनै प्रतिक्रिया जनाएनन्। प्रवक्ता महतले आवश्यकता र सिद्धान्तका आधारमा गठबन्धन हुने स्पष्ट पारे। स्थानीय चुनावमा गठबन्धन गर्ने नगर्ने बारेमा केन्द्रीय समितिमा छलफल जारी रहेका बेला प्रवक्ता महतले यस्तो धारणा राखेका हुन्।
१९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल भ्रमणमा आएका यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बेग्लाबेग्लै भेटेका थिए। नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी चिनियाँ विदेशमन्त्री यी आज स्वदेश फर्केका छन्।
चैत १३, २०७८ आइतबार १५:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।