धर्मशास्त्रले कुनै पनि विभेदको परिकल्पना गरेको छैन: महामन्त्री थापा

धर्मशास्त्रले कुनै पनि विभेदको परिकल्पना गरेको छैन: महामन्त्री थापा

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धर्मशास्त्रले कुनै पनि विभेदको परिकल्पना नगरेको बताएका छन्। नेपालमा संविधान र कानूनले सबै प्रकारका विभेदको उन्मूलन गरेर दण्डनीय बनाए पनि मान्छेहरूले कानून छलेर विभेद गर्ने र विभेदपूर्ण मानसिकता राख्ने गरेको बताएका हुन्।

‘कुनै पनि धर्मशास्त्रले कुनै पनि प्रकारको विभेद गर भनेको छैन, यो हाम्रो व्यवहारको कुरा हो। हामीले संविधान र कानून बनाएर त्यस्तो विभेदको अन्त्य गर्यौँ, दण्डनीय बनायौँ,’ उनले भने, ‘तर हामी नै फेरि त्यही कानूनलाई छलेर विभेद गर्ने, विभेदको मानसिकतालाई मलजल गर्ने गरिरहेका हुन्छौँ, यसलाई आजैदेखि सच्याउनुपर्छ।’

काठमाडौंको बूढानीलकण्ठस्थित दलित महिला उत्थान केन्द्रद्वारा सञ्चालित डी.आर. मेमोरियल स्कुल सञ्चालनार्थ आयोजित सप्ताहव्यापी महायज्ञको उद्घाटन गर्दै महामन्त्री थापाले भगवानले कुनै पनि विभेदलाई स्वीकार नगर्ने बताएका थिए।

‘हामी सबै कुनै न कुनैरूपमा भगवानलाई मान्छौँ, कतै न कतै हाम्रो आस्था छ, त्यसैले हामीले कानूनलाई छलेर त विभेद गर्न सक्छौँ, अपराध गर्न सक्छौँ। तर त्यो विभेद गरेको भगवानले त देखिरहेका हुन्छन्,’ उनले भने, ‘भगवानले त्यस्तो विभेद स्वीकार्दैनन्।’

उनले नेपाली समाजमा रहेका सबै प्रकारका विभेदको व्यवहारिक उन्मूलन गर्न आवश्यक रहेको बताए।

चैत १३, २०७८ आइतबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।