
स्थानीय तह निर्वाचनका लागि तमलोपाले जारी गर्यो १५ बुँदे घोषणापत्र

धनुषाः तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले आसन्न स्थानीय तह निर्वाचनको लागि १५ बुँदे घोषणापत्र जारी गरेको छ। ‘समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्प’ भन्ने नारासहित तमलोपाले शनिबार घोषणापत्र सार्वजनिक गरेको हो।
जनकपुरमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा. विजयकुमार सिंहले संयुक्तरूपमा १५ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा संविधान कार्यान्वयनको महत्त्वपूर्ण चरण र नयाँ युगको थालनीका रूपमा स्थानीय तहको निर्वाचनलाई लिइएको छ।
यस्तै स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र सङ्घीय स्वशासनका निम्ति निरन्तर सङ्घर्षरत रहने पनि घोषणापत्रमा उल्लेख छ। तमलोपाले ‘सङ्घर्ष समानता र सम्मान मधेशीको पहिचान’ निर्धारित गरेको जनाउँदै १० प्रदेशीय राज्य पुनःसंरचना, संविधान संशोधन, राज्य प्रायोजित प्रवासन, प्रदेशको भूमि प्रदेशकै अधिकार हुनुपर्ने, भूमिहीन दलित र सुकुम्बासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रमशक्ति, शिक्षामा सहज पहुँच हुनुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
त्यस्तै कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागिदारी, मधेश विकासका निमित्त दीर्घकालीन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसङ्ख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यावहारिक विदेश नीतिलगायतका पार्टीको महत्त्वपूर्ण बुँदाहरू घोषणापत्रमा समावेश गरिएको छ।
कार्यक्रममार्फत अध्यक्ष लालले स्थानीय चुनावको निम्ति तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। यस्तै पार्टीका वरिष्ठ नेता सिंहले तमलोपाले देशलाई राजनीतिक विकल्प दिने दावी गरे।
चैत १३, २०७८ आइतबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।