
सांसद साहलाई थप उपचारका लागि काठमाडौं ल्याइयो, एमालेले आक्रमण गरेको जसपाको आरोप

काठमाडौँ : सर्लाहीको ईश्वरपुरमा क्लवको घर बनाउने विषयमा भएको झडपमा घाइते भएका संघीय सांसद प्रमोद साहलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ।
टाउकोमा गहिरो चोट लागेका साहलाई उपचारका लागि उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । सांसद साहमाथि रडले आक्रमण भएको र टाउको तथा पिठ्युँमा चोट लागेको छ।
जसपाले आफ्ना केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ। सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले साहसहित आफ्ना कार्यकर्तालाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै जसपाले घटनाको भर्त्सना गरेको छ।
जसपाले विज्ञप्ति निकालेर भनेको छ, ‘नेकपा एमालेले यस्ता घृणित र अपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् नेकपा एमाले हुने छ।’ घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले सरकारसँग माग पनि गरेको छ।
चैत १२, २०७८ शनिबार १५:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।