स्थानीय चुनावका लागि रुपन्देहीमा दुई सय आठ मतदानस्थल, ३२ दल दर्ता

स्थानीय चुनावका लागि रुपन्देहीमा दुई सय आठ मतदानस्थल, ३२ दल दर्ता

बुटवलः आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा दुई सय आठ मतदानस्थल तोकिएको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले दुई सय आठ मतदानस्थल र सात सय चार मतदान केन्द्र निर्धारण भएको बताए।

यसअघिको प्रदेश एवं प्रतिनिधि सभा निर्वाचनमा दुई सय आठ मतदानस्थल र ६ सय १० केन्द्र थिए।

भण्डारीका अनुसार यस पटकको निर्वाचनमा मतदाताको संख्या बढेकाले केन्द्र बढेका हुन्। रुपन्देहीमा ६ लाख ३४ हजार सात सय ९७ जना मतदाता छन्। कार्यालयको टोलीले स्थानीय तहमा संकलन गरेको विवरण, जिल्ला निर्वाचन कार्यालय, ईलाका प्रशासन कार्यालय मार्फत संकलन गरिएकोमा ९८ हजार मतदाता थपिएका थिए।

भण्डारीका अनुसार मतदाता नामावलीको दावी विरोध हुन बाँकी रहेकाले यसमा केही संख्या कम हुनेछ।

यता जिल्लामा स्थानीय तहको निर्वाचनका लागि ३२ वटा दल दर्ता भएका छन्। निर्वाचन आयोगले केन्द्रीय निर्वाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय दलको मान्यता नपाएका ७३ राजनीतिक दलहरूलाई स्थानीय तहको चुनावका लागि आफ्नो जिल्लामा जिल्लास्तरको संगठनात्मक संरचनाको विवरण बुझाउन दिएको समयभित्र रुपन्देहीमा स्थानीय तहको निर्वाचनमा भाग लिन ३२ दलले दल दर्ता गराएका हुन्।

जिल्लामा राष्ट्रिय दलको मान्यता नपाएका जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्‌भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, सचेत पार्टीले दल दर्ता गराएका छन्।

यस्तै समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ।

योसँगै रुपन्देहीमा ३८ दलले दलगत रूपमा चुनावी प्रतिस्पर्धा गर्न पाउने छन्।

जिल्लामा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यताप्राप्त दलका रूपमा सक्रिय छन्। 

चैत १२, २०७८ शनिबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।