आजबाट आईपीएल: चेन्नई र कोलकाता भिड्ने, धोनी खेलाडीको रूपमा मात्र मैदानमा

काठमाडौंः विश्वचर्चित क्रिकेट फ्रेन्चाइज लिग इण्डियन प्रिमियर लिग (आईपीएल)को यस वर्षको संस्करण आजबाट सुरु हुँदैछ। आजको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन्।
गत वर्षको उपाधि विजेता चेन्नईमा यसपटक ठूलो बदलाव छ। आईपीएलको पहिलो संस्करणदेखि नै कप्तानको भूमिकामा रहेका महेन्द्रसिंह धोनी यसपटक खेलाडीको रूपमा मात्र मैदानमा देखिनेछन्। चेन्नईको कप्तानी रवीन्द्र जडेजालाई दिइएको छ।
कोलकाताको कप्तानी भने श्रेयस अय्यर हुनेछन्। उनले इङ्ग्ल्याण्डका लिमिटेड ओभरका कप्तान ओइन मोर्गनको स्थान लिएका हुन्।
वानखेडे स्टेडियममा हुने आजको उद्घाटन खेल नेपाली समयअनुसार साँझ ७:४५ बाट सुरु हुनेछ।
आईपीएलमा हालसम्म यी दुई टोलीबीच २८ म्याच खेलिएको छ। जसमा चेन्नईले १८ म्याचमा जित हासिल गर्दा कोलकाताले ९ म्याचमा जितेको छ। एक खेल नतिजाविहीन छ।
चैत १२, २०७८ शनिबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।