लुम्बिनी कांग्रेस सभापति पुन भन्छन् : 'दुई सय मतमा २० हजार मत मिसाउन सकिँदैन'

लुम्बिनी कांग्रेस सभापति पुन भन्छन् : 'दुई सय मतमा २० हजार मत मिसाउन सकिँदैन'

काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन्। उनले पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा अहिले कांग्रेसको स्थिति राम्रो भएकाले गठबन्धन गर्नुपर्ने अवश्यकता नभएको बताएका हुन्। 

गठबन्धन गर्नुपर्ने कारण के ? हिजाेकाे समीक्षा गर्ने कि नगर्ने ? भनेर प्रश्न समेत गरेका छन् । उनले भने, 'गठबन्धन गर्ने हो भने मतभारलाई आधार बनाऔँ। हाम्रो चार तहको संसदीय बोर्डको व्यवस्था विधानले गरेको छ। गठबन्धन गर्ने कि नगर्ने टिकट वितरण गर्ने अधिकार प्राप्त समितिले दिनुपर्छ। कांग्रेसले अन्य दलसँग गठबन्धन गर्नु पर्ने अवस्था छैन।' 

सोलोडोलो तह छुट्टाएर गठबन्धन गर्नु फाइदाजनक नहुने भन्दै गठबन्धन माथिल्लो तहले निर्णय लाद्ने हो भने कांग्रेसलाई नै घाटा हुने चेतावनी दिए। उनले भारतमा कांग्रेस आईले गठबन्धन गर्दै जाँदा अहिले उसैलाई खोज्नु पर्ने अवस्था आएको बताए। 

उनले आफ्नै कार्यकर्तालाई अरू दलको चुनाव चिन्हमा भोट हाल्न सिकाउनु राम्रो नहुने बताए। मताभरलाई हेरेर स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने अन्य प्रदेशका सभापतिहरूले पनि जोड दिएका छन्। 

चैत ११, २०७८ शुक्रबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।