पोखरामा भएको जुनियर टेनिसमा डल्लाकोटीललाई दुई स्वर्ण

पोखरा : पोखरामा भएको मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा विश्व विशेष डल्लाकोटीले दुईवटा स्वर्ण पदक जितेका छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा उनले यु–९ र यु–१० गरी दुई इभेण्टमा स्वर्ण जितेका हुन्।
यु–९ को फाइनल खेलमा डल्लाकोटीले निश्चल ज्ञवालीलाई पराजित गरेका थिए। पोखराका आर्यश राज पौडेलले तेस्रो र संघर्ष फोकदारले चौथो स्थान हासिल गर्न सफल भए।
९ वर्ष मुनिको इभेण्टमा तेस्रो भएका आर्यश राज पौडेल ८ वर्ष मुनिको इभेण्टमा भने पहिलो हुँदै स्वर्ण पदक विजेता बनेका छन्। फाइनलमा आर्यशले नितेश थापालाई पराजित गरेका हुन। ८ वर्ष मुनिको इभेण्टमा शुभान केसीले तेस्रो स्थान जित्न सफल भए। १० वर्ष मुनिको इभेण्टमा संघर्ष फोकदार दोस्रो, संदिप जिसी तेस्रो र समन सापकोटाले चौथो स्थान हासिल गरे ।
शुक्रबार नै सम्पन्न १४ वर्ष मुनिको गल्र्स सिङ्गलतर्फ प्रशंसा मोक्तानले शिवाली गुरुङलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै नगद १२ हजार सहितको पुरस्कार पाएकी छन्। दोस्रो भएकी शिवालीले छ, हजार नगदसहित पुरस्कृत भइन्। १२ वर्ष मुनिको गल्र्स सिंगल्समा कर्मिष्ठा नुगा श्रेष्ठले शिवाली गुरुङलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरिन्। पहिलो सेट २–६ ले शिवालीलाई सुम्पिएकी कर्मिष्ठाले दोस्रो सेटमा ६–४ ले र तेस्रो सेटमा सुपरटाईमा १०–४ ले आफ्नो पक्षमा परिन्।
प्रतियोगिताका विजेताले नगद ८ हजार तथा उपविजेताले नगद ५ हजार सहित मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गरे। विजयी खेलाडीहरूलाई एक समारोहकाबीच प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, विशेष अतिथि नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले पुरस्कार प्रदान गरेका थिए।
चैत ११, २०७८ शुक्रबार १६:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।