आफू निकट नेतालाई बोहोराटार बोलाएर पौडेलले भने : 'संस्थापन इतरको नेता म नै हो'

काठमाडौँ : सत्तारूढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाइतर समूहको संरक्षण आफूले गर्ने बताएका छन्। शुक्रबार आफूनिकट जिल्ला सभापतिहरूलाई बोलाएर उनले संस्थापनइतर नेता आफू भएको दाबी गरेका हुन्।
उनले छुट्टै समूहको नेतृत्व गर्ने भन्दै आफूलाई साथ दिन आग्रह गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। ‘उहाँले छुट्टै समूह बनाएर अघि बढ्ने बैठकमा चाहना राखेको देखियो । शेरबहादुरइतर टिमको तपाईँहरूको अभिभावक म नै हो भन्नुभयो । तपाईंहरूहरूको संरक्षण गर्छु भन्नुभयो।’ ती नेताले भने। बैठकमा पौडेलले स्थानीय तह निर्वाचनमा कसरी गठबन्धन गरेर अघि बढ्ने भन्नेबारेमा सभापतिहरूसित सल्लाह मागेका थिए।
‘गुट–सुट होइन म नेपाली कांग्रेसलाई बलियो, मुलुकलाई बलियो बनाउन चाहन्छु,’ भेलामा सहभागी एक नेताले नेता पौडेलको भनाइ उद्धृत गर्दै भने, ‘सिस्टममाथि संकट आउनु भएन। मुलुकको विकास गर्ने मेरो लक्ष्य हो।’ बैठकमा उपस्थित जिल्ला सभापतिहरुले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने कुरामा केन्द्रको निर्णय लाद्न नहुने सुझाव दिएका छन्।
भेलामा पूर्वमहामन्त्री डा. शशांक कोइराला, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, दीपक गिरी पनि भेलामा सहभागी थिए। पूर्व केन्द्रीय सदस्यद्वय दिलबहादुर घर्ती, हृदयराम थानी, सांसद मोहन पाण्डेय, बाजुरा सभापति रामसिंह रावल, तनहुँ सभापति जितप्रकाश आले, पाल्पा सभापति हिमाल श्रेष्ठ, सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामा, धादिङका निवर्तमान सभापति रमेश धमला, कास्कीका निवर्तमान सभापति कृष्ण केसी, बागमती प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठलगायत नेता पौडेल निवास बोहराटार पुगेका थिए।
चैत ११, २०७८ शुक्रबार १५:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।