उच्च अदालत पोखरामा पुनरावेदन गर्दै पल शाह

पोखरा : नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन्।
जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार आदेश दिएपछि उच्च अदालत पोखरामा पुनरावेदन गर्न लागेको शाहका कानुन व्यवसायीले बताएका छन्।
जिल्ला अदालत तनहुँले पललाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो।
अदालतको आदेशविरुद्ध चित्त नबुझेकाले उच्च अदालतमा पोखरामा मुद्दा पुनरावेदन गर्ने तयारी गरिएको शाहका कानुन व्यवसायी भानुभक्त सुवेदीले उकेरालाइ बताए।
उनले भने, ‘शाहका विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतबाट बिहीबार भएको अदेशमा चित्त नबुझेकाले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेका छौं। भोलि शनिबार परेकाले सार्वजनिक बिदा हुन्छ। दुई/चार दिनभित्र मुद्दा पुनरावेदन हुन्छ।’
कानुन व्यवसायी सुवेदीले अदालतले यस्तो मुद्दामा थुनुवामा राखेर, साधारण तारिखमा छाडेर र धरौटीमा छाडेर तीन किसिमबाट अनुसन्धान गर्नसक्ने बताए। उनले भने, ‘अदालतले तीन किसिमको फैसला गर्नसक्छ । आरोपितलाई थुनुवामा राखेर, साधारण तारिखमा छाडेर र धरौटीमा छाडेर अनुसन्धान गर्नसक्छ । तर शाहलाई त्योमध्ये थुनुवामा राख्ने आदेश भएको छ। यसमा हाम्रो पक्षलाई चित्त बुझेको छैन। त्यसैले पुनरावेदन गर्ने तयारी भएको छ।’
अधिवक्ता सुवेदीका अनुसार कृष्ण जोशीको हकमा अदालतको आदेश स्वीकारे पनि शाहका बारेमा आएको आदेश चित्त नबुझेकाले मुद्दामा पुनरावेदन गरिने छ।
चैत ११, २०७८ शुक्रबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।