अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन सीमा नजिकको भ्रमण गर्ने

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन सीमा नजिकको भ्रमण गर्ने

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिश–युक्रेनी सीमा नजिकैको एक शहरको यात्रा गर्ने भएका छन् । एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर (५० माइल) भन्दा कम दूरीमा पुर्याउने बताइएको छ। 

यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ।  युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा व्याख्या गर्दै आएका छन्।

रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना बढी भएको छ। रुसले गत प्रेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो। युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा सात देखि १५ हजार रुसी सैनिक मारिएको दाबी उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)ले गरेको छ। 

नेटोका वरिष्ठ अधिकारीका अनुसार युद्धमा मारिने तथा घाइते हुने रुसी सैनिकको संख्या ३० हजार देखि ४० हजार रहेको छ। रुसले मार्च २ पछि युक्रेनसँगको युद्धमा आफ्ना कति सैनिक मारिए तथा घाइते भएका छन् भन्ने सार्वजनिक गरेको छैन। रुसले अफगानिस्तानमाथि १० वर्ष कब्जा गर्दा १५ हजार रुसी सैनिक मारिएका थिए। 

युक्रेनले पनि युद्धमा आफ्ना कति नागरिक तथा सैनिकको मुत्यु भयो भन्नेमा स्पष्ट हुन सकेको छैन। युक्रेनका राष्ट्रपतिले करिव दुई साता अघि युद्धमा एक हजार ३०० युक्रेनी सैनिक मारिएको जनाएका थिए। युद्धका कारण हालसम्म २० लाखभन्दा बढी युक्रेनीले देश छोडेको जनाइएको छ। उनीहरू छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन्। 

चैत ११, २०७८ शुक्रबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।