अफगानिस्तानमा छात्राको पढ्ने अधिकार फेरि खोसियो, रुँदै घर फर्किन विवश

काठमाडौं : शैक्षिक सत्र सुरु भएको पहिलो दिनदेखि नै अफगानिस्तानमा छात्राका लागि उच्च शिक्षा बन्द भएको छ। तालिबानले सत्ता कब्जा गरेको सात महिनापछि विद्यालय केही समयको लागि खुलाएर पुन: बन्द गराएको हो।
गत हप्ता मात्रै शिक्षा मन्त्रालयले देशभरका सबै विद्यालय बुधबारदेखि खुल्ने जनाएका थिए। मंगलबार साँझ पनि शिक्षा मन्त्रालयका प्रवक्ता अजिज अहमद रायनले सबै विद्यार्थीलाई विद्यालय फर्कन पाएकोमा बधाई दिँदै भिडियो सार्वजनिक गरेका थिए।
इस्लामिक कानुन र अफगान संस्कृति अनुसार योजना नबन्दासम्म छात्राका लागि विद्यालय बन्द रहने त्यहाँको सरकारी समाचार एजेन्सी बख्तरकाले जनाएको छ। समाचार अनुसार बुधबार शिक्षा मन्त्रालयले सो सूचना सार्वजनिक गरेको हो र सोही दिनदेखि नियम कार्यान्वयन भइसकेको छ।
समाचार संस्था एएफपीका अनुसार सो कुराको पुष्टि गर्न खोज्दा तालिबानका प्रवक्ता इनामुल्लाह समंगानीले यो समाचार सत्य भएको बताएका छन्। मन्त्रालयका प्रवक्ता अजिज अहमद रायनले भने आफूहरुलाई यसबारे टिप्पणी गर्न अनुमति नभएको भन्दै केही बताउन चाहेनन्।
तालिबानले कब्जा गरेपछि पहिलो पटक खुल्न लागेको विद्यालयको भिडियो खिच्न एएफपी टोली राजधानी काबुलको जरघोना हाई स्कुलमा गएको थियो। भिडियो खिचिरहेकै अवस्थामा एक शिक्षक कक्षा कोठाभित्र प्रवेश गरे र कक्षा सकिएको भन्दै निस्किएका थिए। सो खबर सुनेपछि छात्राहरु आँखाभरि आँशु पारेर आ-आफ्नो झोला बोकेर बाहिर निस्कन बाध्य भएका थिए।
तालिबानले कब्जा गरेपछि विद्यालयहरू कोभिड महामारीको कारण बन्द भए पनि तर छात्र र बालिकालाई मात्र विद्यालय जान अनुमति दिइएको थियो।
यसअघि सन् १९९६ देखि २००१ सम्म पनि अफगानिस्तानमा तालिबानले महिला शिक्षा र अधिकांश महिला रोजगारीमा प्रतिबन्ध लगाएको थियो। तर अगस्टमा सत्ता फेरि हातमा लिएपछि छात्राहरूको शिक्षा र रोजगारीको अवसर दिने उनीहरुले वाचा गरेका थिए।
चैत ११, २०७८ शुक्रबार १२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।