गत साल युरो कप जितेको इटाली यो साल हुने विश्वकपमा छनोट भएन

काठमाडौंः युरो कप २०२० को उपाधि जितेको थियो इटालीले। फाइनलमा १-१ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा ३-२ ले जित्दै इटालीले उपाधि हात पारेको थियो। इटालीले युरो कप जित्नेमा सुरुदेखि नै आकलन पनि गरिँदै आएको थियो।
तर इटालीको युरो कप जितेको खुशी एक वर्ष पनि राम्रोसँग टिकेन। गए राति भएको विश्वकप छनोटको सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग पराजित हुँदै इटाली विश्वकप छनोटबाट बाहिरिएको छ।
निर्धारित ९० मिनेटको खेल सकिएपछि थप गरिएको समयमा नर्थ म्यासेडोनियासँग १–० ले इटाली पराजित भएको हो। नर्थ म्यासेडोनियाका लागि थप गरिएको समयको दोस्रो मिनेटमा एलेक्साण्डर ट्राजकोभ्स्कीले गोल गरेका थिए।
खेल अवधिभर इटालीले बल पोजेसन कायम गरेको थियो। तर निर्णायक समयमा चुक्दा इटाली लगातार दोस्रो पटक विश्वकपमा पुग्न वञ्चित भएको छ। यसअघि रुसमा भएको सन् २०१८ को विश्वकपमा पनि इटाली छनोट भएको थिएन।
योसँगै इटालीको ५९ खेलको अपराजित कीर्तिमान पनि यही टुङ्गिएको छ।
विश्वकप छनोटका लागि अब फाइनल खेल २९ मार्चमा हुनेछ। फाइनलमा पोर्चुगल र नर्थ म्यासेडोनिया भिड्नेछन्।
सेमिफाइनलमा पोर्चुगलले भने टर्कीलाई ३-१ ले पराजित गरेको थियो।
चैत ११, २०७८ शुक्रबार १०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।