वनकरिया बस्तीको जिम्मा प्रदेश सरकारले लिन्छ: मुख्यमन्त्री पाण्डे

मकवानपुरः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सीमान्तकृत एवं लोपोन्मुख वनकरियाको बसोबासको जिम्मा प्रदेश सरकारले लिने बताएका छन्। मकवानपुरको मनहरि गाउँपालिकामा रहेको वनकरिया बस्तीमा पुगेर उनले वनकरियाको समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका हुन्।
मुख्यमन्त्री पाण्डेले पर्सा वन्यजन्तु आरक्षको क्षेत्राधिकारभित्र रहेको वनमा बसोबास गर्दै आइरहेको उनीहरूलाई प्रदेश सरकारले शिक्षा र स्वास्थ्यको पूर्वाधार निर्माणसहितको बस्ती बनाएर स्थानान्तरण गर्ने आश्वासन दिए।
उनले वनकरिया बस्तीनजिकै रहेको विपन्न चेपाङ बस्तीलाई समेत स्थानान्तरण गरिने बताए।
वनकरिया समुदायकी मुखिया सन्तमाया वनकरियाले आफूहरूको मुख्य समस्या जग्गा रहेको बताइन्। उनले शिक्षा र स्वास्थ्यमा पनि ध्यान दिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराइन्।
मनहरि गाउँपालिका उपाध्यक्ष मनिला विष्टले वनकरिया समुदायका लागि पालिकाले प्राविधिक शिक्षामा छात्रवृत्ति र निःशुल्क स्वास्थ्य बीमा गरिदिने जानकारी गराइन्।
चैत ११, २०७८ शुक्रबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।