पललाई साँझ ७:१५ मा जेलरले बुझे, अदालती प्रक्रियामा मात्र बाहिरिन पाउने

तनहुँ : जिल्ला अदालत तनहुँले नाबालिग बलात्कारको अभियोग लागेका पल शाह भनिने पूर्णविक्रम शाहले बाँकी मुद्दा प्रक्रिया जेलमा बसेर पूरा गर्न आदेश दियो।
२१ दिनसम्म उनी अनुसन्धानका लागि न्यायिक हिरासतका लागि प्रहरी कार्यालयमा थिए। अदालतको आदेशपछि जेल यात्रा सुरु भयो। अब मुद्दाको अन्तिम फैसला नआएसम्म कारागारमा बस्नुपर्ने आदेश आएपछि प्रहरीले अदालतको प्रशासनबाट आवश्यक कागज बुझ्यो।
आदेशमा कारागार पठाउनु मात्र भनिएको थिएन, जिल्ला कारागार दमौलीमा पठाउनु भनेको थियो। त्यसैले जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरीले उनलाई सुरक्षासहित प्रहरी भ्यानमा राखेर अदालत परिसरबाट निकाल्यो।
अदालत परिसर बाहिर केही पलका समर्थक र परिवारका सदस्य थिए। उनीहरूमा रुवाबासी सुरु भयो। प्रहरीले दमौलीमै रहेको कारागारमा पुर्यायो। कारागारमा थिए निमित्त जेलर नारायणप्रसाद अधिकारी।
उनले अदालतको कागजपत्रसँगै बेलुका ७: १५ मा शाहलाई बुझिलिए। प्रहरी फर्किएपछि जेल प्रशासनले उनलाई कारागारको कैदी/बन्दी र थुनुवा रहने पुरुष भवनमा पठायो। अब पुनरावेदनबाट आदेश नउल्टिए मुद्दाको फैसलासम्म उनी त्यही रहनेछन्।
प्रहरी हिरासतमा बाहिरबाट खाना आएको थियो। कारागारमा त्यहीको खाना खानुपर्ने छ अन्य कैदी/बन्दी र थुनुवासँगै। उनले पालोमा फोन गर्न पाउने छन् आफन्तलाई। तोकिएको बार र समयमा परिवारका सदस्यले भेट्न पाउने छन्। उनी कारागार बाहिर निस्कने स्वास्थ्य समस्या र अदालती प्रक्रियामा मात्र हो।
चैत ११, २०७८ शुक्रबार ०५:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।