देउवाले पेल्दै गए समानान्तर गतिविधि गर्ने शेखर पक्षको चेतावनी

देउवाले पेल्दै गए समानान्तर गतिविधि गर्ने शेखर पक्षको चेतावनी

काठमाडौँ : सभापति शेरबहादुर देउवाले पेल्दै अघि बढे पार्टी दुर्घटनासम्म पुग्ने चेतावनी दिएको कांग्रेसको शेखर कोइराला पक्षले समानान्तर गतिविधि अघि बढाउने विषयमा छलफल गरेको छ। 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार भातृ संगठनको नेतृत्व केही दिनमा टुंगो लाग्ने बताएका थिए। तर बुधबार साँझ सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए। सो निर्णय गर्दा एकलौटी गरेको भन्दै शेखर कोइराला समूह असन्तुष्ट भएको छ। 

नेता कोइरालाले बिहीबार आगामी योजनाबारे छलफल गरेका छन्। छलफलमा नेविसंघ, तरुण दल, महिला संघ, आदिवासी जनजाति सङ्गठनलगायतका भातृ संगठनका पूर्व पदाधीकारीहरू सहभागी थिए। नेता कोइरालाले उनीहरूसँग कसरी अघि बढ्दा उपयुक्त हुन्छ भनेर राय मागेका थिए। 

उकत छलफलमा उपस्थित पूर्व पदाधीकारीहरुले सहमतिको प्रयासलाई अघि बढाउनमा जोड दिएका थिए । प्रयास गर्दा पनि देउवा एक्लै अघि बढ्न खोजे समानान्तर गतिविधि अघि बढाउनुपर्नेमा उनीहरूको जोड थियो। सहभागीमध्ये केहीले सबै भातृ संगठनको समानान्तर समिति बनाउनेसम्मको तयारी गर्नुपर्ने धारणा राखेका थिए। 

पहिले सभापतिलाई सहयोग गरौँ सहमतिमा जाऔ, यदि उहाँ सहमतिमा नआई एकलौटी गतिविधि गर्नुहुन्छ भने समानान्तर गतिविधि गर्न सुझाव दिएका छौँ  नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्यले भने। 

सुझाव सुनेपछि नेता कोइरालाले आफूले सभापति देउवासँग संवाद गर्ने बताएका थिए। छलफलमा चन्द्र भण्डारी, प्रतिमा गौतम, भुपेन्द्रजंग शाही, गोविन्द पोखरेल, केशव सिंह, विनोद कायस्थ, कुसुम थापा लगायतका नेताहरूको उपस्थित थियो।
 

चैत १०, २०७८ बिहीबार २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।