अफगानिस्तानमा छात्रा शिक्षाबाट बन्चित 

अफगानिस्तानमा छात्रा शिक्षाबाट बन्चित 

काठमाडौँ : शैक्षिक सत्र सुरु भएको पहिलो दिन देखिनै अफगानिस्तानमा छात्राहरूका लागि उच्च शिक्षा बन्द भएको छ। तालिबानले सत्ता कब्जा गरेको ७ महिना पछि विद्यालयहरू केही समयको लागि खुलाएर बन्द गराएको हो। 

गत हप्ता मात्रै मन्त्रालयले देश भरका सबै विद्यालयहरू बुधवार देखि खुल्ने जनाएका थिए। मंगलबार साँझ पनि शिक्षा मन्त्रालयका प्रवक्ता अजिज अहमद रायनले सबै विद्यार्थीहरूलाई विद्यालय फर्कन पाएकोमा बधाई दिँदै भिडियो सार्वजनिक गरेका थिए। 

इस्लामिक कानून र अफगान संस्कृति अनुसार योजना नबन्दासम्म छात्राका लागि विद्यालय बन्द रहने त्यहाँको सरकारी समाचार एजेन्सी बख्तरकाले जनाएको छ। समाचार अनुसार बुधवार शिक्षा मन्त्रालयले सो सूचना सार्वजनिक गरेको हो र साेही दिनदेखि नियम कार्यन्वयन भैसकेको छ।  

समाचार संस्था एएफपीका अनुसार सो कुराको पुष्टि गर्न सोध्दा तालिबानका प्रवक्ता इनामुल्लाह समंगानीले यो कुरा सत्य भएको बताएका छन्। त्यस्तै  मन्त्रालयका प्रवक्ता अजिज अहमद रायनले भने, 'आफूहरुलाई यसबारे टिप्पणी गर्न अनुमति नभएको भन्दै केही बताउन चाहेनन्।' 

तालिबानले कब्जा गरे पछि पहिलो पटक खुल्न लागेको विद्यालयको भिडियो खिच्न एएफपी टोली राजधानी काबुलको जरघोना हाई स्कुलमा गएको थियो। भिडियो खिचिरहेकै अवस्थामा एक शिक्षक कक्षा कोठा भित्र प्रवेश गरे र कक्षा सकिएको भन्दै निस्किएका थिए। सो खबर सुने पछि छात्राहरू आँखा भरि आँसु पारेर आ-आफ्नो झोला बोकेर बाहिर निस्कन बाध्य भएका थिए। तालिबानले कब्जा गरे पछि विद्यालयहरू कोभिड महामारीको कारण बन्द भए पनि तर छात्र र बालिकाहरूलाई मात्र विद्यालय जान अनुमति दिएको थियो। 

यस अघि सन् १९९६ देखि २००१ सम्म पनि अफगानिस्तानमा तालिबानले महिला शिक्षा र अधिकांश महिला रोजगारीमा प्रतिबन्ध लगाएको थियो। तर अगस्टमा सत्ता फेरी हातमा लिए पछि छात्राहरूको शिक्षा र रोजगारीको अवसर दिने उनीहरूले वाचा गरेका थिए।

चैत १०, २०७८ बिहीबार १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।