तारागाउँका सदस्य सचिव लुईँटेलको नियुत्ती रोक्न सर्वोच्चको अन्तरकालिन आदेश

काठमाडौँ : तारागाउँ विकास समितिका सदस्य सचिव नारद लुइँटेलको नियुत्ती तत्काल रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। पर्यटनमन्त्री प्रेम आलेले गरेको नियुक्तिविरुद्ध अदालतमा परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले पक्ष-विपक्ष दुबैलाई छलफलका लागि बोलाउँदै छलफल गरेर टुङ्गो नलागेसम्मका लागि उनलाई सदस्य सचिवको रूपमा काम गर्न रोकेको हो।
लुइँटेल विरुद्ध संस्कृति तथा पर्यटन मन्त्रालयमा छानबिन जारी रहेको बेला मन्त्री आलेले मन्त्रीस्तरिय निर्णय गरेर उनलाई सदस्य सचिवमा नियुक्त गरेका थिए। समितिका पूर्व अध्यक्ष समेत भइसकेका लुइँटेलमाथि अधिग्रहण जग्गा पुन फिर्ता गराउने प्रलोभन देखाएर कमिसन खाएको, अधिग्रहणको जग्गाको फाइल लुकाएको लगायतका आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले मन्त्रालयलाई छानविनका लागि पत्र पठाएको थियो।
आयोगको पत्र अनुसार मन्त्रालयले सुरु गरेको छानबिन टुङ्गो नलाग्नै मन्त्री आलेले उनलाई सदस्य सचिवमा नियुक्त गरेका थिए। उजुरीमा हायात होटल नजिकको तीन रोपनी १५ आना जग्गामा समितिको कार्यालय निर्माण गर्न निर्देशन दिएकोमा उनले गुन्डा नाइकेको रूपमा चिनिएका राजु गोर्खाली लगायतकासँग मिलेर सपिङ कम्प्लेक्स बनाउन डिजाइन गरेको, उनीहरूसँग एडभान्स कमिसन लिएको, अधिगमरहित जग्गाका पुराना मोही खोजेर ३५ रोपनी जग्गामा किचलो निकाल्न सघाएको, न्युरोडमा रहेको रमा गृह मिलेमतो गरेर सस्तो दरमा भाडामा दिएको लगायतका आरोप छन्।
चैत १०, २०७८ बिहीबार १५:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।