दिल्ली पुगेर मोदीलाई भेटे भगवन्त मानले

एजेन्सी : भारत पन्जाबका नवनियुक्त मुख्यमन्त्री भगवन्त मानले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। पन्जाबमा आम आदमी पार्टीको चमत्कारिक जीतपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
नियुक्त भएपछि उनी पहिलो पटक दिल्ली पुगेर प्रधानमन्त्री मोदीसँग भेट गरेर पन्जाबको विकासका बारेमा छलफल गरेको एजेन्सीहरूले उल्लेख गरेका छन्। हास्य कलाकार रहेका मान आपबाट राजनीतिमा सक्रिय भएका थिए। आपले दिल्लीपछि नेतृत्व पाएको यो दोस्रो प्रदेश हो।
दिल्लीमा जसरी पानी, बिजुली र सरकारी शिक्षासँगै स्वास्थ्य क्षेत्रमा सुधार भएको थियो त्यसरी नै पन्जाबमा समेत विकास गर्ने अरविन्द केजरीवालको वाचा पत्याएर पन्जाबका मतदाताले आपलाई बहुमत दिएका थिए। यस अगाडि पन्जाबमा कांग्रेसको सरकार थियो।
यो चुनावमा अकाली दलदेखि कांग्रेसका दिग्गज नेताहरू समेत आपका भर्खर राजनीतिमा आएका उम्मेदवारहरूसँग पराजित भएका थिए।
चैत १०, २०७८ बिहीबार १४:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।