सुरक्षा समिति बैठक: ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित

काठमाडौंः सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले एकीकृत सुरक्षा नीति पारित गरेको हो।
‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘अब निर्धारित स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीति अनुरूप सम्पन्न गर्न सजिलो हुन्छ। निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नीतिले सहयोग पुर्याउँछ।’
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे धारणा राखेका थिए।
यस्तै बैठकमा शुक्रबारबाट हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ। गृहमन्त्री खाँणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेलामा आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन समेत दिएका थिए।
जवाफमा भ्रमण शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफूहरूले कार्ययोजना बनाएको सुरक्षा प्रमुखहरूले बैठकमा बताएका थिए।
बैठकमा गृहमन्त्री खाँणसहित गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता पोखरेलको सहभागिता थियो।
चैत १०, २०७८ बिहीबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।