पल प्रकरणमा दोस्रो दिन बहस सुरु, आजै आदेश आउन सक्ने

तनहुँ : नाबालिग बलात्कारको अभियुक्त अभिनेता पल शाह र उनका म्यानेजर कृष्ण जोशीलाई कारागार पठाएर मुद्दा प्रक्रिया अगाडि बढाउने कि धरौटी छाड्ने आदेशका लागि थुनछेक बहस जारी छ।
दोस्रो दिन बिहीबार प्रतिवादी शाह र जोशीको कानुनी सहयोगीले बहस सुरु गरेका हुन्। बुधवार नाबालिगको पक्षमा सरकारी वकिलसहित चार जनाले बहस गरेका थिए।
शाह र जोशीको पक्षमा बहस गर्ने अधिवक्ताको सङ्ख्या १५ भए पनि बुधवार तीन जनाले मात्र बहस गर्न भ्याएका थिए। शाह र जोशीको पक्षको बहस सकिएपछि पीडितको पक्षबाट प्रतिउत्तर बहस भएपछि थुनछेकको आदेश आउने छ।
थुनछेकको आदेश आजै आउने सम्भावना छ। पीडित पक्षले सबै प्रमाणले शाहले बलात्कार गरेको र जोशीले मतियारको भूमिका निभाएको पुष्ट हुने भन्दै पुर्पक्षका लागि कारागारमा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।
शाह र जोशीका पक्षकाले भने धरौटी माग गरिरहेका छन्। उनीहरूले ढिला जाहेरी परेको, इन्कारी बयान दिएको लगायतका तर्क गरेका छन्।
पल विरुद्ध नाबालिग गायिकाको परिवारले फकाएर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएका थिए। अनुसन्धानमा देखिएको प्रमाणको आधारमा जोशी पक्राउ परेका थिए।
चैत १०, २०७८ बिहीबार १२:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।