विद्युत् महसुल नतिर्ने १२ हजार आठ सय ३३ ग्राहकको लाइन काटियो

धनुषाः मधेस प्रदेशका आठ जिल्लामा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजार आठ सय ३३ ग्राहकको लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरणको मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी ६४ करोड ३५ लाख रुपैयाँ महसुल सङ्कलन समेत गरिएको छ।
प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरका अनुसार लाइन कट्टा गरिएकामध्ये नौ हजार सात सय १४ जनाले पुनः लाइन जडान गरेका छन्। त्यसबाट रु ४२ करोड ९२ लाख ३९ हजार एक सय ९० राजस्व सङ्कलन भएको छ।
विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले लाइन काट्ने अभियान चलाइएको उनको भनाइ छ। यस्तै विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि मधेश प्रदेशमा चालु आर्थिक वर्षको सात महिनामा करिब चार प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ।
सबैभन्दा बढी सिरहाको लहान वितरण केन्द्रले १३ दशमलव ९७ प्रतिशत चुहावट नियन्त्रण गरेको छ भने सबैभन्दा कम सर्लाहीको मलङ्गवा वितरण केन्द्रले चार प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको प्रमुख इ ठाकुरले जानकारी दिए।
चैत १०, २०७८ बिहीबार ११:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।