थाइल्याण्डविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै नेपाली टोली, अघिल्लो पटक व्यहोरेको थियो नमीठो हार

काठमाडौंः नेपालले आज थाइल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ। थाइल्याण्डको चोनबरीमा हुने खेल नेपाली समयअनुसार साँझ ५:४५ बाट सुरु हुनेछ।
एएफसी एसियन कप छनोटअघि नेपालले थाइल्याण्डसँग अभ्यासस्वरूप खेल्न लागेको हो। लगत्तै २७ मार्चमा नेपालले चोनबरी फुटबल क्लबसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ।
थाइल्याण्ड फिफा वरियतामा ११२औं स्थानमा रहेको छ। नेपालको वरियता १६७औं स्थान हो। आफूभन्दा निकै बलियो प्रतिद्वन्द्वीसँग भिड्न लागेको नेपालका लागि आजको खेल राम्रो अवसर बन्नसक्छ।
यसअघि नेपाल र थाइल्याण्ड सन् २००८ को मेमा पनि मैत्रीपूर्ण खेलमा भिडेका थिए। त्यस खेलमा नेपालले ७-० को नमीठो हार व्यहोरेको थियो।
एसियन कप छनोटका खेलहरू जुन ८ देखि १४ सम्म चल्नेछ। प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ। सो समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन्।
चैत १०, २०७८ बिहीबार ०८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।