आफ्नै साहुबाट ५० लाख असुल्न अपहरणमा परेको नाटक गर्ने पक्राउ

दाङ : अपहरणमा परेको नाटक गरी आफ्नै साहुसँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रुकुम पश्चिम बाफिकोट गाउँपालिका–९ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–४ नयाँ बस्तीका हरीप्रसाद रिजालको ड्राईगन फ्रुट कृषि फर्ममा लामो समयदेखि काम गर्दै आएका २४ वर्षीय जनक देवकोटालाई प्रहरीले लमही नगरपालिका–९ अमेलिया जंगलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।
देवकोटाले फर्म सञ्चालक रिजाललाई डर, त्रास र धम्की दिई ५० लाख रुपैयाँ फिरौती मागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए। देवकोटाले रिजालको घर व्यवहार, व्यक्तिगत सम्बन्धसहित आर्थिक हैसियतका बारेमा सबै बुझेकाले सजिलैसँग पैसा कमाउने सोचले उक्त घटनाको योजना बनाएको एसपी काफ्लेले बताए। उनले पैसा कमाएर मात्र नहुने भन्दै आफूसँगै रहेका व्यक्तिको अत्यधिक विश्वासले गर्दा यो घटना घटेको उनले बताए। रिजालको तुलसीपुरसहित बिभिन्न ठाउँमा कलेज, अस्पतालमा ठुलो लगानी छ।
आफू अपहरणमा परेको नाटक गरी मध्यरातमा म्यासेज मार्फत ५० लाख रुपैयाँ नदिए देवकोटाले रिजालले ज्यान मार्ने धम्की दिएको प्रहरीको दाबी छ। फागुन २७ गते फर्ममा प्लास्टिकको पाइपमा कालो टेपले बेरेर बम जस्तो शंकास्पद बस्तु राखेर अभियुक्त देबकोटाले डर, त्रास देखाएको प्रहरीले जनाएको छ। सकेट बम बनाउन प्रयोग हुने सामाग्री सहितको बस्तुलाई नेपाली सेनाले डिष्पोज गरेको थियो।
त्यसपछि ३० गते फर्म सञ्चालक रिजाल आबद्ध रहेको जनता समाजवादी पार्टी र आफै स्वयंले अमेरिकी सहयोग सम्झौता एमसीसीको पक्षमा रहेको भन्दै धम्कीपूर्ण भाषामा गुगलबाट ट्रान्सलेट गरेको प्रिन्ट गरेर नो एमसीसी लेखेको पत्र राखेका थिए। त्यस लगत्तै चैत्र ६ गते देवकोटा अटोमा चढेर तुलसीपुर बजारमा रहेको बैंकमा जान्छु भनी निस्किएको र त्यहाँबाट बैंकमा गई उनी नेपालगन्ज गएका थिए।
फिरौती माग्न उनले अपहरणको नाटक गर्दै बेलुका घरमा श्रीमती पवित्रा देवकोटालाई तपाईँको बुढो हामी सँग सुरक्षित छ, हामी एउटै पार्टीका रहेछौ हजुर,आफू सुरक्षित ठाउँमा जानु होस, हामी हजुरको बुढोलाई केही गर्दैनौ, हामीले हरिप्रसाद रिजालसँग बदला लिनु छ भनेर मोबाइलमा म्यासेज लेखेर एकाएक बेपत्ता भई सम्पर्क विहीन भएका थिए।
बेपत्ता भएको सूचना प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याल र वडा प्रहरी कार्यालय घोराहीको टोली उद्धार र अनुसन्धानमा खटेको थियो।
देवकोटाविरुद्ध झुठा अफवाह फैलाउन नहुने कसुरमा मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ३ को दफा ७० (झुटा अफवाह फैलाउने) र सोही ऐनको परिच्छेद ७ को दफा १४० बमोजिम कृत्रिम विस्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसुरमा सजाय अन्तरगत मुद्दा चल्ने एसपी काफ्लेले बताए।
चैत ९, २०७८ बुधबार २१:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।