पलको पक्षमा १५ जना वकिल, निर्दोष हुन् भन्दै जारी छ बहस 

पलको पक्षमा १५ जना वकिल, निर्दोष हुन् भन्दै जारी छ बहस 

तनहुँ : नाबालिग बलात्कारको अभियोग लागेका कलाकार पल शाहको पक्षमा १५ जना अधिवक्ताहरूले बहस गरिरहेका छन्। जिल्ला अदालत तनहुँमा जारी थुनछेक बहसमा पलको पक्षमा बहस गर्न तनहुँका ८ जना र काठमाडौँबाट ७ जना अधिवक्ताहरू गएका थिए।

अहिले नाबालिगको पक्षको बहस सकिएपछि पलको पक्षमा रहेका अधिवक्ताहरूले बहस गरिरहेका छन्। नाबालिकाको पक्षमा सरकारी वकिलसहित चार जनाले मात्र बहस गरेका थिए।

पलका पक्षका अधिवक्ताहरूले प्रतिवादी बनाइएका शाहले बलात्कारै नगरेको दाबी गर्दै साधारण तारेखमा राख्न माग गरिरहेका छन्। नाबालिगको बलात्कार भएको कुनै प्रमाणै नभएको उनीहरूको दाबी छ। बहस जारी छ।

नाबालिगको तर्फबाट बहस गरेका अधिवक्ताहरूले अनुसन्धानका प्रमाण र अभियुक्त शाहकै बयानबाट उनले नाबालिगसँग यौन सम्बन्ध राखेको पुष्टि हुने भन्दै पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए।

नाबालिग बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेपछि फरार रहेका शाहले पाँच दिनपछि आत्मसमर्पण गरेका थिए। प्रहरीले अनुसन्धान सकाएर सोमबार प्रस्तावित राय सुझाव बुझाएपछि मङ्गलवार जिल्ला न्यायाधीवक्ताको कार्यालय तनहुँले अभियोग पत्र दर्ता गरेको थियो। आज शाह लगायतकाको बयान सकाएर अदालतले थुनछेक बहस सुरु गरेको हो।

चैत ९, २०७८ बुधबार १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।