केन्द्रीय समितिमा ओलीको निर्देशन : प्रचण्डको पार्टी रित्तै हुने गरी पार्टी प्रवेश गराऔँ

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले २ पटक गरेको संसद् विघटनबारे प्रष्टिकरणदिँदै पार्टी जोगाउन संसद् विघटन गर्नु जरुरी रहेको बताएका छन्। उनले पुस ५ को संसद् विघटनको कारण पार्टी कब्जा गर्न षड्यन्त्र चिर्न गरेको दाबी गरे। केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने' यति बेला वामपन्थी एकता होइन पार्टी प्रवेश गराउनुपर्यो। प्रचण्डको मान्छे सबै यतातिर ल्याउनु पर्यो। प्रचण्डको भाँडो रित्तो भएपछि पार्टी एकता गर्लान् नि त।'
उनले प्रचण्डले जनयुद्ध गरेर जनतालाई धोका दिएर परिवारका लागि मात्र काम गरेको भन्दै पार्टीभन्दा बरु उद्योग खोलेको भए हुने भन्दै आलोचना गरे। उनले सानातिना कुरामा अल्झियौँ भने पार्टी बलियो नहुने बताए।
उनले बैठकमा भारतको आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालको कामको उदाहरण दिन समेत भ्याए। 'अस्ति बनेको केजरीवालको पार्टीले अलिकति काम गर्दा अहिले कस्तो प्रभाव पारेको छ हेर्नुस् त। त्यहाँका अरू पार्टीलाई कसरी कमजोर बनाएको छ। त्यो भरखर स्थापित भएको पार्टी हेर्ने हो भने त नेपालमा लोकतन्त्रका लागि यत्रो त्याग गरेको पार्टी हामी छौँ,' उनले भने।
उनले नेताहरूलाई एक्लै नहिड्न निर्देशन दिँदै भने'एक्लै हिँड्ने काम नगर्नुस्। यो ठिक तरिका होइन। आफ्नो लयमा होइन पार्टीको लयमा सबै हिंड्नुपर्छ।
चैत ९, २०७८ बुधबार १७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।