पललाई धरौटीमा छाड्ने कि कारागार पठाउने तनहुँमा बहस जारी

पललाई धरौटीमा छाड्ने कि कारागार पठाउने तनहुँमा बहस जारी

तनहुँ : नाबालिग बलात्कारको अभियोग लागेका पल शाह र उनका म्यानेजर कृष्ण जोशीबारे जिल्ला अदालत तनहुँमा  थुनछेकको बहस जारी छ।अदालतले बुधवार अभियुक्त लगायतकाको बयान सक्काएर थुनछेक बहस सुरु गरेको हो। बहसको क्रममा बालिकाको तर्फबाट जिल्ला न्यायाधीवक्तासँगै बालिकाको तर्फबाट बहस गर्न पुगेका अधिवक्ताहरूले बहस गरेका थिए।

राधिका खतिवडा लगायतकाले बहसका क्रममा प्रमाणले शाहले नाबालिगलाई विवाहको प्रलोभनमा पारेर बलात्कार गरेको देखिएको र उनी धरौटीमा छुटेमा प्रमाण नष्ट गर्न सक्ने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए।

जोशीले नाबालिगसहितलाई धम्क्याउने र अनुसन्धानलाई प्रभावित पार्न खोजेको र प्रमाणमा छेडखानी गरेको दाबी गर्दै उनीहरूले उनलाई समेत मतियारको रूपमा पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए।

नाबालिगतर्फको बहस सकिएपछि पल र जोशीका कानुन सहयोगीले बहस गर्ने तयारी छ।

पल शाहको म्यानेजरको बयान : नाबालिकाले शाहले प्रेमको विश्वासमा पारेर करणी गरे भनेकी थिइन्

तनहुँमा पलको बयान : राति पौन १२ बजेतिर बियर लिएर  पीडित सुतेको कोठा भित्र पसेको हुँ

पल प्रकरण : नाबालिगको सूचना दिन कृष्ण जोशीले ५० लाख अफर गरे

जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिगतर्फबाट शाहले नाबालिगको बलात्कार गरेको जाहेरी परेपछि प्रहरीले पल र जोशीलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो। मङ्गलवार उनीहरुविरुद्ध जिल्ला न्यायाधीवक्ताको कार्यालय तनहुँले अभियोग पत्र दर्ता गरेको थियो। अभियोग पत्रमा रहेको पलको बयानमा बियर पिएर मध्यरात नाबालिग सुतेको कोठामा गएको तर बलात्कार नगरेको दाबी गरिएको छ। जोशीले धम्क्याएको स्वीकार गरे पनि त्यो जिस्किएको दाबी गरेका छन्।

दुबैतर्फको बहस सकिएपछि तारेख, धरौटी वा पूर्पपक्षका लागि थुनामा पठाउने आदेश आउने छ। तीन वर्षभन्दा बढी कैद सजाय हुनसक्ने अभियोगमा धरौटी निस्कने सम्भावना न्यून हुन्छ।

चैत ९, २०७८ बुधबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।