चिनियाँ विमान दुर्घटनाः कारण पत्ता लगाउनै कठिन
काठमाडौँ : सिभिल एभिएसन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी) का उड्डयन सुरक्षा निर्देशक झु ताओले गत सोमबार दुर्घटना भएको चिनियाँ विमानको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरुलाई निकै कठिनाई भएको बताएका छन्। मंगलबार एक पत्रकार सम्मेलन मार्फत दुर्घटनाबाट विमानमा गम्भीर क्षति भएको भन्दै अनुसन्धानमा धेरै कठिनाई भएको उनले बताएका हुन्।
ताओले भने, 'अहिले सम्म प्राप्त भएका जानकारीहरुलाई मध्यनजर गर्दै, हामीसँग अझै पनि दुर्घटना के कारणले भयो भन्ने स्पष्ट मूल्याङ्कन छैन।' उनका अनुसार उद्धारकर्मीहरूले विमान दुर्घटना भएको जङ्गलबाट अझै सम्म कसैको पनि सकुशल उद्दार गर्न सकेका छैनन्। द्रुत अवतरणको क्रममा एयर कन्ट्रोलरहरूबाट भएको बारम्बारको सम्पर्कको उक्त विमानले कुनै जवाफ नदिएको उनको भनाइ छ।
त्यस्तै पत्रकार सम्मेलनका क्रममा सो एयरलाइन्सका एक अधिकारी सन शियिङले सो विमानले उडान गर्नु अघि आफ्नो सबै प्राविधिक अवस्थाहरु र वायुयोग्यता मापदण्डहरू समेत पुरा गरेकाे थियाे। उनले, 'चालक दलका सबै सदस्यहरुको स्वास्थ्य अवस्था सँगै उडान अनुभव पनि राम्रो थियो।'
चाइना इस्टर्न एयरलाइन्सको उक्त विमानमा १३२ जना यात्रु रहेका थिए। युनानको राजधानी कुन्मिङबाट ग्वान्झाउको लागि सो उडान एमयु ५७३५ निस्किएकाे थियाे। आफ्नो निर्धारित अवतरण समय भन्दा एक घण्टा अघि गुआङ्सीको पहाडमा उक्त विमान दुर्घटनामा परेको हो। विमान सो पहाडको जङ्गलमा क्षतिग्रस्त अवस्थामा फेला परेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। विमान दुर्घटना हुँदा चट्यांग जस्तै “ब्याङ, ब्याङ“ आवाज आएको एक प्रत्यक्ष दर्शीले बताएका छन्।
त्यस्तै चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार सो विमान ३५ डिग्रीको कोणमा जमिनमा खसेको एक भिडियो फुटेज मार्फत पता लागेको छ। समाचार अनुसार करिब ६०० सैनिकहरू, अग्निनियन्त्रकहरू र प्रहरीहरू दुर्घटनास्थलतिर लागेका थिए। जुन लगभग १ वर्ग किलोमिटरको स्थानमा तीन तर्फका पहाडहरूले घेरिएको स्थानमा रहेको थियो।
हवाई यात्रामा कोरोनाभाइरस महामारीको प्रभाव पनि सो विमान दुर्घटनाका कारण हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन्। चीनमा दुर्घटना भएको कारण चिनियाँ अनुसन्धानकर्ताहरूले सो अनुसन्धानको नेतृत्व गरिरहेका भए पनि विमान अमेरिकी निर्मित भएकोले अमेरिकी अधिकारीहरूले सहायता उपलब्ध गराउने समाचारमा उल्लेख छ।
राज्य टेलिभिजनले विमानको भग्नावशेष आगोले जलेको रूखहरू बीचमा छरिएको प्रशारण गरेको छ। जसमा डढेको परिचयपत्र र पर्सको अवशेषहरु पनि देख्न सकिन्छ । घटनास्थल नजिकै प्रहरीले लु गाउँमा चेकपोस्ट बनाएर पत्रकारहरुलाई प्रवेशमा रोक लगाएको छ। चीनमा यस अघि सन् २०१० मा पनि एक व्यवसायिक विमान दुर्घटना भएको थियो । सो दुर्घटनामा ९६ जना यात्रु मध्ये ४४ को मृत्यु भएको थियो।
चैत ९, २०७८ बुधबार १५:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।