बुटवलमा चैत १० देखि कृषि मेला हुने, तयारी पूरा

बुटवलः बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही चैत १० देखि १४ गतेसम्म कृषि मेला–२०७८ हुने भएको छ। संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा बुटवलमा सञ्चालन गर्न लागिएको मेलाको तयारी पूरा भएको मंगलबार एक पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।
‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको मेलाको बिहीबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गर्नेछन्। संघले सञ्चालन गर्न लागेको यो दशौं संस्करणको कृषि मेला हो।
२०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले २०४१ सालमा काठमाडौं उपत्यकाबाहिर पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला गरेको थियो भने २०६२ सालदेखि विशिष्टिकृत कृषि मेलाको सुरुआत गरेको थियो।
संघका अध्यक्ष तथा कृषि मेला कार्यसम्पादन समितिका सञ्योजक उज्ज्वलप्रसाद कसजूले कृषिमा व्यावसायिक विकास गरी कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टिकृत कृषि मेला आयोजना गरिएको बताए।
गैरनाफामूलक मेलाको रूपमा आयोजना गरिएको कृषि मेलामा अधिकतम ५० स्टल रहनेछन्। मेलामा २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।
चैत ९, २०७८ बुधबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।