पल शाहको म्यानेजरको बयान : नाबालिकाले शाहले प्रेमको विश्वासमा पारेर करणी गरे भनेकी थिइन्

तनहुँ : पल शाहका म्यानेजर कृष्ण जोशीले नाबालिग पीडितसँग पलको प्रेम सम्बन्ध रहेको बयान दिएका छन्। जिल्ला अदालत तनहुँमा दर्ता भएको अभियोग पत्रमा उल्लेख भएको उनको बयानमा भनेका छन्' म लगायतले पीडित र प्रतिवादी पूर्णविक्रम शाहलाई बुझ्दा नाबालिकाले आफूलाई पूर्णविक्रम शाहले माया प्रेम गरेको विश्वासमा पारी पटक पटक जबरजस्ती करणी गरेका कारण म पीडामा छु भनेकी थिइन्।' उनलाई प्रहरीले नाबालिग पीडितको बलात्कारमा मतियारको काम गरेको अभियोग लगाएको छ।
फिल्म, गीत, सङ्गीत र विज्ञापन अनि स्टेज कार्यक्रममा शाहबारे रकम, कार्यक्रम र समय निर्धारण गर्ने कामका लागि शाहले म्यानेजरका रूपमा मासिक २५ हजार तलब लिएर काममा राखेको भन्दै उनको बयानमा छ' शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिका र प्रतिवादीबिच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो।'
उनले शाहसँग मनमुटाब भएपछि म्यानेजरको जिम्मेवारीबाट हटाएको र २०७८ असार अन्तिम हप्तातिर पीडितले सम्पर्क गरेर शाहले मलाई नराम्रो व्यवहार गरेको र वास्ता गर्न छाडेको बताएको उनको बयानमा उल्लेख छ।
'म लगायतले पीडित र शाहलाई बुझ्दा नाबालिकाले आफूलाई शाहले माया प्रेम गरेको विश्वासमा पारी पटक पटक जबरजस्ती करणी गरेका कारण म पीडामा छु भनेकी थिइन्,' उनको बयानमा उल्लेख छ।
शाह र नाबालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरूमा आएपछि शाहले सम्पर्क गरेर सहयोग गर्नु पर्यो भन्दै मासिक तलब ५० हजार रुपैयाँ बनाएर काममा लगाएको उनको बयानमा उल्लेख छ।
म्यानेजर भएपछि पीडित नाबालिगकालाई एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउन्, भविष्य राम्रो हुन्छ भनेको उनले बयानमा स्वीकार गरेका छन्। पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेपछि दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीतसङ्गीतमा सहयोग गर्छु भनेको उनले स्विकारेका छन्।
चैत ८, २०७८ मंगलबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।