तनहुँमा पलको बयान : राति पौन १२ बजेतिर बियर लिएर पीडित सुतेको कोठा भित्र पसेको हुँ

तनहुँ : इलाका प्रहरी कार्यालय गैँडाकोटमा परेको उजुरीमा नवबालिकासँग प्रेम सम्बन्ध छैन भनेर बयान दिएका पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको बयानमा भने पीडित नवबालिकासँग आफ्नो प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन्।
जिल्ला अदालत तनहुँमा मङ्गलवार दर्ता भएको अभियोग पत्रमा राखिएको शाहको बयानको अंशमा पीडित पक्षले पेस गरेको अडियो रेकर्डमा गर्लफ्रेण्ड–ब्वाई फ्रेण्डबीच हुनु भनेको नर्मल हो भन्ने आवाज आफ्नै भएको सकारेको उल्लेख छ।
उनले बयानमा नेपाली चलचित्रमा नायकको भूमिकासँगै म्युजिक भिडियोहरूमा अभिनय गर्नेक्रममा नाबालिग गायिकासँग असोज २२ गते काठमाडौँ साँखुमा भेट भएर चिनजान भएका खुलाएका छन्। भेटमा फोन नम्बर आदान–प्रदान भएको र त्यसपछि दुबैबिच फोन र सामाजिक सञ्जालमा कुरा हुने गरेको बयानमा उल्लेख छ।
म्युजिक भिडियो सुटिङ गर्ने क्रममा दुबैबिच विभिन्न स्थानमा गई बस्ने गरेको र गत वैशाख १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसेको समेत बयानमा उल्लेख छ।
'राति अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदान प्रदान गरेका थियौँ। राति अन्दाजी पौन १२ बजेतिर खाइ बाँकी रहेको बोतलको बियर लिएर पीडित भनिएकी गायिका सुतेको कोठामा गई ढोका धकेली भित्र पसेको हुँ। उनलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ,' उनको बयानमा भनिएको छ।
नाबालिगले जेठ महिनाको अन्तिमतिर फोन गरेर तपाईँ र मेरो सम्बन्ध अरूले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईँले मलाई स्विकार्नु पर्छ भन्ने समेतको शब्दहरू म्यासेजमा पठाएको र गत असारमा काठमाडौँको बानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, म्यानेजर कृष्ण जोशी र आफू बसेर छलफल गर्ने क्रममा पीडित पक्षले पीडितलाई विवाह गर्नुपर्छ भनेकाले पीडितको उमेर पुगेपछि विवाह गरौँला, अहिले केटीको उमेर पुगेको छैन भनेको समेत बयानमा उल्लेख छ।
उनको बयानमा पीडित १८ वर्षभन्दा कम उमेर नाबालिका हुन भन्ने जनकारी रहेको समेत उल्लेख छ।
चैत ८, २०७८ मंगलबार १९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।