प्रतिकूल वकपत्र गर्ने सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौँ : अख्तियार दुरुपयोग अनुन्धान आयोगले प्रतिकूल वकपत्र गर्ने दुई सरकारी साक्षीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी साक्षीका रूपमा अख्तियारले पेश गरेका मो. अजरुद्दिन राइनले विशेष अदालत काठमाडौंमा वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान कागजको प्रतिकूल वकपत्र गरेपछि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार महोत्तरीको जलेश्वरनाथ सब–डिभिजन वन कार्यालयका रेञ्जर (अधिकृतस्तर) रामअशिष यादवविरुद्ध महोत्तरीकै एकडारा गाउँपालिका–२ बस्ने मो. अजरुद्दिन राईनसँग काठसहित पक्राउ परेको ट्रयाक्टर छुटाइदिने भनेर घुस लिएको आरोपमा २०७६ फागुन ३० गते विशेष अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
उक्त मुद्दामा सरकारी साक्षीका रूपमा राईन पेश गरिएका थिए । तर, उनले बयान कागजको प्रतिकूल हुने गरी वकपत्र गरेको भन्दै अख्तियारको राईनविरुद्ध १५ हजार रूपैयाँ बिगो मागदाबी सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ र ऐ. ऐनको दफा ३ को उपदफा १ को देहाय खण्ड (क) बमोजिमको सजायको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५(१) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
चैत ८, २०७८ मंगलबार १८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।