कमरेड करिष्माको मुड

काठमाडौँ : कमरेड बन्न अभिनेत्री करिष्मा मानन्धर माइतीघरमा कार्की ब्याङ्क्वेटमा पुग्दा उनी रातै पहिरनमा थिइन्। निधारमा लगाएको टिका पनि रातै थियो। अनि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट स्वागत पाउँदा पनि रातै खादा पाइन्।
मञ्चमै स्थान पाएकी उनी निकै प्रफुल्ल थिइन् राष्ट्रिय कलाकारबाट एमालेको कार्यकर्ता बन्न पाउँदा। हुन त उनले राजनीतिक यात्रा सुरु गरेको अहिले हैन, वैकल्पिक राजनीति गर्ने भनेर डा बाबुराम भट्टराइले खोलेको नयाँ शक्ति नेपालमै उनी केन्द्रीय सदस्यको हैसियतमा सहभागी भएकी थिइन्।
बाबुराम नयाँ शक्तीमा अडिन सकेनन्। उनी यता र उता गर्दागर्दै जनता समाजवादी पार्टीमा पुगे। करिष्मा जता बाबुराम लाग्छन् त्यतै जान सकिनन्। उनको राजनीतिक सम्बन्ध बिचैमा छुट्यो।
कलाकारिता यात्रा सुस्त भइसकेको थियो उनको। छोरीलाई चलचित्र क्षेत्रमा ल्याउने प्रयास पनि सफल हुन नसकेपछि उनी अध्ययनतिर लागिन्। अध्ययनको गतिलाई निरन्तर अगाडि बढाइरहेकी उनमा बाबुरामले लगाइदिएको राजनीतिको चस्का बाँकी नै थियो। तर कहाँ जाने टुङ्गो लगाउन सकेकी थिइनन्।
ओलीसँग फोनबाट सुरु भएको फोन संवाद घरमा भेटघाटसम्म पुगेपछि उनी एमालेतिर सकारात्मक बन्दै गइन् र मङ्गलवारबाट एमाले कार्यकर्ता भइन्। उनी कुन हैसियतमा एमालेमा प्रवेश गरेकी हुन् अनि अब उनले पार्टीमा के जिम्मेवारी पाउँदै छिन् खुलेको छैन।
उनको जिम्मेवारी नखुले पनि निर्वाचनको माहौलको बिचमा एमालेले भने एक परिचित प्रचारक पाएको छ। आफ्नो कालखण्डमा नेपाली चलचित्र जगतमा एकछत्र राज गरेकी करिष्मा सर्वसाधारणबिच परिचित मुहार हो। यसले प्रचारमा एमालेलाई केही न केही सहयोग पक्कै पुग्नेछ नै। तर करिष्मालाई एमाले प्रवेश गर्दा राजनीतिक यात्रा अगाडी बढाउन सहयोग पुग्छ या उनी मञ्चको शोभा मात्र हुने हो त्यो भोलिका दिन पार्टीले उनलाई दिने जिम्मेवारी र उनको क्रियशिलताले देखाउने छ नै।
एमालेका टिक्ने हो भने पार्टी अध्यक्ष केपी ओलीको प्रशंसा गर्नु न्यूनतम आधार हो। एमालेमा टिक्ने मन्त्र उनले सिकिसकेकी रहिछिन्। त्यो मङ्गलवारै देखियो। उनले भनिन्' नेता भनेको भिजन देखाउने मान्छे हो। त्यो भिजन उहाँमा रहेको म पाउँछु। उहाँमा यति इनर्जी छ। उहाँका कुरा जति सुनेपनी म अघाउँदिन।'
चैत ८, २०७८ मंगलबार १५:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।