नाइजेरियामा गोली हानी १६ गाउँलेको हत्या

एजेन्सी : नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले गोली हानी १६ गाउँलेको हत्या गरेका छन्। अज्ञात बन्दुकधारीहरुले गाउँलेमाथि अन्धाधुन्ध गोली हानी हत्या गरेको जामफारा प्रहरीले पुष्टि गरेको छ।
बन्दुकधारीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए। ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कयौँ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन।
प्रत्यक्षदर्शीका अनुसार गाउँका गाउँलेमाथि ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेको बताएका थिए। उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन्। ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन्। तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन।
उक्त राज्यका प्रहरी प्रमुखले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।
चैत ८, २०७८ मंगलबार १४:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।