वाम एकता आजको आवश्यकता हो, यसको नेतृत्व एमालेले लिनुपर्छ: नेता भुसाल

काठमाडौँ : वामपन्थी एकताको वकालत गर्दै आएका एमालेका नेता घनश्याम भुसालले वाम एकताको नेतृत्व एमालेले लिनुपर्ने बताएका छन्। आज काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेको बताएका हुन्।
यो स्थिरतासँग सम्बन्धित छ, वाम एकताको नेतृत्व एमालेले गर्नुपर्छ। एकताको लागि पहल गर्ने आज पनि दायित्व एमालेकै हो,’ भुसालले भने। ‘तीन पार्टीमा वैचारिक र सैद्धान्तिक समस्या छैन। हामी जाने बाटो एउटै हो भने तीन पार्टी किन चाहियो ?,’ उनले भने, ‘हामी विभाजन भएको ०७७ पुसमा प्रतिनिधि सभा विघटनले हो। त्यो मामिला सर्वोच्च अदालतले टुंगो लगाइसक्यो।’
उनले अब तीन पार्टी फरक हुनुको अर्थ नरहने पनि बताए। तीन पार्टीले चुनावमा आफ्नो हैसियतअनुसारको नतिजा ल्याउँछन् तर तीन पार्टी एक भयो भने सबैभन्दा ठूलो दल बन्छ,’ उनले भने, ‘कहिले वाम एकताको कुरा नबुझेर विरोध पनि गरेका हुन सक्छन्।’
उनले विभिन्न शक्तिले पनि वाम एकता हुन नदिएको बताए। ‘०७४ मा पनि वामएकताको कुरा गर्दा मेरो विरोध भएको थियो। यो विभाजन र दूरी कृत्रिम छ,’ उनले भने।
उनले पदअनुसार जिम्मेवारी र भूमिका हुन्छ भन्ने स्वीकार गर्नसाथ गठबन्धन हुने पनि बताए। भुसालले संसद विघटन र पुनःस्थापना इतिहासको घटना भइसकेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यसलाई त्यहिँ छाड्नुपर्ने बताए।
चैत ८, २०७८ मंगलबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।