आजदेखि ग्रीन भेञ्चर्सको ३१ लाख २५ हजार कित्ता आईपिओ खुला

काठमाडौंः ग्रीन भेञ्चर्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आजदेखि ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।
निष्काशन गरिएको शेयरमा कुल निष्काशनको पाँच प्रतिशत- एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत- ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ।
सर्वसाधारणले यही चैत ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत १२ अर्ब आठ करोड हुने जनाएको छ।
धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी’ ग्रेडिङ प्रदान गरेको छ।
चैत ८, २०७८ मंगलबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।