सर्लाही र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौंः सोमबार सर्लाही र मोरङ जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मोरङको कटहरी गाउँपालिका- ५ भित्री सडकखण्डमा हिजो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा चालक स्थानीय २२ वर्षीय रवि हजारी थारु रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा राति १० बजे मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका पछाडि सवार २६ वर्षीय सत्यनारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ। को२९प ९१९७ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ८ बजे, अनियन्त्रित भई घरको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। 

यस्तै सर्लाहीको गोडैता नगरपालिका- १० मा गए राति जीपको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना गम्भीर घाईते भएकी छिन्।

मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षीया रञ्जितादेवी मण्डल रहेकी छिन्। उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। सोही दुर्घटनामा ६५ वर्षीया जयकलियादेवी मण्डल गम्भीर घाइते भएकी छिन्।

उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गए राति साढे ९ बजे भारतीय नम्बरको जीपले पैदलयात्रीद्वयलाई एकैसाथ ठक्कर दिएको हो। जीपसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी गोडैताले जानकारी दिएको छ।

चैत ८, २०७८ मंगलबार ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।