लेटाङमा मारिएकी प्रहरीको परिवारलाई गृहमन्त्रीले भने : किरिया सकेर आउनु सहयोग गर्छौ

लेटाङमा मारिएकी प्रहरीको परिवारलाई गृहमन्त्रीले भने : किरिया सकेर आउनु सहयोग गर्छौ

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार भएको घटनामा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई फोन गरेर किरिया सकेर सम्पर्क गर्न भनेका छन्।

खाँणको सचिवालयका अनुसार उर्मिलाका श्रीमान् नवीन श्रेष्ठलाई टेलिफोन गरेर उनले शान्ति सुरक्षा कायम गर्न खटिएको अवस्थामा भएको आक्रमणबाट मृत्यु भएकाले राज्यका तर्फबाट परिवारलाई सहुलियत उपलब्ध गराउने बताएका हुन्।

‘कर्तव्य पालनाको सिलसिलामा उहाँको मृत्यु भएको छ । उहाँप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु,’ गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘तपाइहरूले उहाँको काज किरियासम्बन्धी कार्य सिद्ध्याएर सम्पर्कमा आउनुहोला। राज्यबाट हामीले सक्दो सहयोग प्रदान गर्छौ।’

फागूपूर्णिमाका दिन चैत चार गते शिक्षा विकास विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्र छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेपछि शान्ति सुरक्षा कायम गर्न खटिएकी प्रहरी जवान श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन्।

खाँणले लेटाङ घटनाको छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए।

चैत ८, २०७८ मंगलबार ००:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।