सामाजिक सञ्जालमा पार्टीको आलोचना नगर्न प्रदीप पौडेलको निर्देशन

तनहुँ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय स्वीकार नगरे जित्न नसकिने बताएका छन्। तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भिमादमा सोमबार आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनका बेला आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय स्वीकार गर्न उम्मेदवारका आकांक्षीहरुलाई आग्रह गरे।
‘निर्वाचनका बेला आफूलाई चित्त बुझेन भने पनि निर्णयलाई स्वीकार गरेर अगाडि जानुपर्दछ,’ नेता पौडेलले भने, ‘पार्टीको निर्णयलाई स्वीकार नगर्ने हो भने कहिले पनि निर्वाचन जित्न सकिँदैन।’
निर्वाचनको बेला आन्तरिक मतभेदलाई उठाउने समय नभएको भन्दै उनले पार्टीको आलोचना नगर्न कार्यकर्ताहरूलाई आग्रह गरे।
‘निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय होइन। चित्त बुझेन भने त्यो कुरालाई थाती राख्नुस्,’ उनले भने, ‘ भाषणहरूमा कांग्रेसभित्रको कुरा नल्याउनुस्, आलोचना नगर्नुस्।’
उनले कम्युनिस्टको भ्रमलाई चिर्ने गरी क्षमता बढाउन आग्रह गर्दै नेतृत्वलाई औँला ठड्याउने गरे पनि गलत भएको ठाउँमा गलत भन्नुपर्ने भए पनि कहिलेकाहीँ मौन बस्नुपर्ने बताए।
नेता पौडेलले निर्वाचनको समयमा पार्टीमा चित्त नबुझेका कुराहरू पनि सामाजिक सञ्जालमा नलेख्न नेता–कार्यकर्ताहरूलाई सुझाव दिए।
‘सामाजिक सञ्जालमा मनपरी नगर्नुस्। तपाईँले सामाजिक सञ्जालमा केही लेख्नुभयो भने तपाईँको उन्नतिको सबैभन्दा बाधक त्यही हुन्छ,’ उनले भने, ‘किन भने त्यो प्रमाणका रूपमा सुरक्षित हुन्छ।’
अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा कम्युनिस्टहरूले भ्रम सिर्जना गरिरहेका भन्दै पौडेलले कांग्रेसले भ्रम उदाङ्गो पार्न नसकिरहेको बताए।
चैत ७, २०७८ सोमबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।