रातो माटो लिएर फर्कँदै गरेको ट्रक दुर्घटना: एकको मृत्यु, पाँच घाइते

बैतडीः ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले बताए। गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो।
दुर्घटनामा सख्त घाइते भएकी चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा सुर्नया गाउँपालिका–३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया विमला चन्द र २३ वर्षीया पार्वती विष्ट घाइते भएका छन्। माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा तथा विमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको मिनी ट्रक सडकको नालीमा पल्टिएको हो। चालक पाटन नगरपालिका–४ का वीरेन्द्र खत्री फरार छन्।
चैत ७, २०७८ सोमबार १०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।