मरियपोलमा आत्मसमर्पण गर्न रुसले दिएको आदेश युक्रेनद्वारा अस्वीकार

एजेन्सीः रुसी रक्षा मन्त्रालयले युक्रेनको शहर मरियपोलका नेतृत्त्वकर्तालाई सोमबार बिहानसम्म आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ। रुसको अल्टिमेटमलाई युक्रेनले भने ठाडै अस्वीकार गरेको छ।
मरियपोल हाल चौतर्फी रूपमा रुसको घेराबन्दीमा छ। यद्यपि मरियपोलको प्रशासन र युक्रेनी सरकारले आत्मसमर्पण गर्ने प्रस्तावलाई अस्वीकार गरेको हो।
रुसी मन्त्रालयले मरियपोलका स्थानीय अधिकारीलाई बिहान ५ बजे (मस्कोको समय)भित्रै शहर सुम्पन आदेश दिएकोमा युक्रेनका उपप्रधानमन्त्री इरिना भारेस्चुकले अस्वीकार गरेकी हुन्। उनले भनेकी छिन्- 'कुनै पनि प्रकारको आत्मसमर्पण र हतियार बिसाउनेबारे छलफल हुनै सक्दैन।'
मरियपोल शहर पछिल्लो केही सातायता रुसी हमलाको केन्द्रविन्दुको रूपमा रहेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले मरियपोलमाथि गरिरहेको हमलालाई युद्ध अपराधक संज्ञा दिएका छन्।
चैत ७, २०७८ सोमबार ०९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।