विद्यार्थीमाथि यौन दुर्व्यवहार प्रकरण: लेटाङका केही स्थानमा कर्फ्यु आदेश जारी

मोरङः जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु लेटाङ नगरपालिकाका ३, ४, ५ र ६ नम्बर वडामा लगाइएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिएका छन्।
सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ।
आइतबार विद्यार्थीमाथि भएको यौन दुर्व्यवहारको घटनामा संलग्न शिक्षकलाई प्रहरी कार्यालय लैजाने क्रममा झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको थियो। त्यसपछि लेटाङ-५ खेरुवास्थित शिक्षा विकास मावि परिसर तनावग्रस्त बनेको थियो।
विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपपछि आक्रोशित गाउँलेले विद्यालय घेरेर आरोपी शिक्षकलाई कुटपिट गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
आक्रोशित भिडले विद्यालयमा आगो लगाएपछि प्रहरीको सङ्ख्या बढाइयो। त्यहीबिचमा कसैले महिला प्रहरीको घाँटीमा छुराले काट्दा उनको मृत्यु भएको हो।
हाल त्यस क्षेत्रको अवस्था सामान्य भए पनि थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरिएको प्रजिअ दाहालले बताए।
चैत ७, २०७८ सोमबार ०८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।