स्थानीय तह निर्वाचनमा विवेकशील साझाबाट निष्कासित पाण्डे समूह र साझा पार्टी मिल्ने

स्थानीय तह निर्वाचनमा विवेकशील साझाबाट निष्कासित पाण्डे समूह र साझा पार्टी मिल्ने

काठमाडौँ : विवेकशील साझा पार्टीबाट कारबाहीमा परेको मिलन पाण्डे समूहले हालै निर्वाचन आयोगमा दर्ता भएको साझा पार्टीसँग मिलेर स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। रवीन्द्र मिश्र समूहले कारबाही गरेपछि पाण्डे समूह निकटले निर्वाचन आयोगमा साझा पार्टी दर्ता गरेका थिए।

विवेकशील साझा पार्टीबारे सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश नआएपछि उनीहरूले आफ्नो समूहको नाम विवेकशील साझा पार्टीको मूल-बाटो समूह राखेका छन्। पाण्डे समूहका प्रवक्ता हरीशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा अदालतमा रहेको मुद्दाको अन्तिम फैसला भई न्यायिक निरूपण नटुङ्गिएसम्म कानुनी लडाई जारी राख्दै विभिन्न राजनीतिक दल र समूहहरूसँग गठबन्धन र ध्रुवीकरण गर्ने उल्लेख छ।

पहिलो चरणमा वैकल्पिक राजनीति जोगाउने र पुनर्गठन गर्दै यसलाई सुदृढ गर्ने प्रयास स्वरूप युवाहरूले गठन गरेको साझा पार्टीसँग गठबन्धन गर्दै विवेकशील साझा गठबन्धनमार्फत वैकल्पिक राजनीतिमा छुटेका र फरक फरक दल र समूह मार्फत राजनीति गर्दै आएका पार्टी र समूहलाई एक ठाउँमा ल्याउने पहल गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा उल्लेख भए अनुसार विवेकशील साझा गठबन्धनले एक दर्जनभन्दा बढी जिल्लामा उम्मेदवारी दिन आइतबारै जिल्ला निर्वाचन कार्यालयहरूमा आफ्नो गठबन्धनको लागी चुनाव चिन्ह पाइला छाप समेत दर्ता गराएको उल्लेख छ।

पाण्डे समूहले पुरानो विवेकशील नेपाली दलले प्रयोग गर्ने स्माइली फेसलाई पुन प्रयोग गर्न थालेका छन्। जबकि दोस्रो पटकको एकीकरणमा असहमत संस्थापक अध्यक्ष उज्ज्वल थापा समेत दोस्रो पटकको एकीकरणमा असहमत भएर साझामा गएका थिएनन्। मिलन अध्यक्षमा चयन भएपछि उनले बहुमतको आधारमा साझासँग दोस्रो पटक एकीकरण गराएका थिए।

पछिल्लो समय  मिश्रको राजनीतिक लाइनबारे मतभेद बढेपछि बहुमतको आधारमा  मिश्र समूहले पाण्डेसहित विवेकशीलबाट साझामा आएका रञ्जु दर्शना लगायतका अधिकांश नेताहरूलाई कारबाही गरेर निष्कासन गरिसकेका छन्।

उता साझासँग दोस्रो पटकको एकीकरणमा असहमत समूहले नेपाल विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन्। उज्ज्वल थापासँगै काम गरेकी कर्मा लामा तामाङको अध्यक्षतामा नेपाल विवेकशील पार्टी दर्ता भएपछि उनीहरूले पहिलो स्थानीय तहको निर्वाचनमा प्रयोग गरेको कुकुरलाई चुनाव चिन्हको रूपमा अगाडि बढाइरहेका छन्।

चैत ६, २०७८ आइतबार २०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।