अभिनेत्री रेखाको चरित्र हत्या गरेको आरोपी शर्मिलाको म्याद थपियो, सात दिन प्रहरी हिरासतमा

अभिनेत्री रेखाको चरित्र हत्या गरेको आरोपी शर्मिलाको म्याद थपियो, सात दिन प्रहरी हिरासतमा

काठमाडौँ : नाबालिग बलात्कार प्रकरणमा अभियुक्त पल शाहको पक्षमा नाराबाजी गरेको अनि नाबालिगको पक्षमा धारणा राख्ने कलाकारविरुद्ध अनर्गल दाबी गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबा सात दिनको लागि प्रहरी हिरासतमा परेकी छिन्।

शुक्रवार प्रहरीको साइबर ब्युरोले युट्युब च्यानलहरूमा अनर्गल बोलेर चरित्रहत्या गरेको आरोपमा उनलाई चितवनमा पक्राउ गरेको थियो। अभिनेत्री रेखा थापाको चरित्र हत्या गर्दै उनले केही युट्युब च्यानलमा अन्तर्वार्ता दिएपछि थापाको दिदीले साइबर ब्युरोमा उजुरी दिएपछि उनी लुक्दै बसेकी थिइन्।

शुक्रवार उनी चितवनमा फेला परेपछि प्रहरीले हिरासतमा राखेको थियो। आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गर्दा अदालतले सात दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वाइबा नाबालिगको चरित्र हत्यामा सामाजिक सञ्जालमा सक्रिय देखिएकी थिइन्। कलाकार पल शाहको पक्षमा उनी दमौली पुगेर नाराबाजी गर्दै आफैँ कपडा च्यातेर डिएसपीलाई बलात्कारको आरोप लगाइदिने भन्दै धम्क्याएकी थिइन्। उनले सेलेब्स नेपाल र एवान मिडिया नामक युट्युबमा अन्तर्वार्ता दिँदै नायिका थापा र नाबालिगको चरित्र हत्या हुने अभिव्यक्ति दिएकी थिइन्।

नाबालिग पीडितको चरित्र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले वाइबाभन्दा अगाडि हरि उदासीसहित तीन जनालाई पक्राउ गरेर अदालतको अनुमतिमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

चैत ६, २०७८ आइतबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।