सात बायु सेवा कम्पनीले बुझाएनन् ९ करोड, प्राधिकरणले दियो अन्तिम सात दिने चेतावनी

काठमाडौँ : पटक-पटक सूचना निकाल्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिनको म्याद दिएर सात बायु सेवा सञ्चालकलाई नेपालबाहिर जान नपाउने गरी कालो सूचीमा राख्ने चेतावनी दिएको छ।
आइतबार सात दिने सूचना निकाल्दै प्राधिकरणले प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डपका सञ्चालकसहितलाई सात दिनभित्रमा बाँकी बक्यौता चुक्ता गर्न भन्दै चुक्ता नगरे सरकारी बाँकी सरह जायजेथा रोक्का राखेर अनि राहदानी जफत गरेर कारबाही गर्ने चेतावनी दिएको छ। सूचनामा कतारी नागरिक समेत छन्।
यी वायुसेवा कम्पनीले विभिन्न शिर्षककमा प्राधिकरणलाई ९ करोड १७ लाख रुपैयाँ बुझाउन बाँकी रहेको सूचनामा उल्लेख छ। सूचना अनुसार नेकोनका सञ्चालक दीपमणि राज भण्डारी, मुकुन्दभक्त श्रेष्ठ, दीपकराज कोइराला, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान जोशीको नाम उल्लेख छ। उनीहरूले ४ करोड २ लाख बुझाएका छैनन्।
शिवानी एयरका सञ्चालक मणिन्द्रलाल रञ्जितकाको नाममा ५५ लाख ५१ हजार, गोरखा एयरका सञ्चालक प्रज्वल श्रेष्ठ, डा, उज्ज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ, सूर्यप्रसाद श्रेष्ठको नाममा २० लाख ३५ हजार, माउन्टेन एयरका सञ्चालक प्रज्ञान शमशेर जबरा, सिद्धिका राणा र शिवेन्द्र बहादुर बस्नेतको नाममा ६ लाख १० हजार बक्यौता बाँकी छ।
कस्मिक एयरका सञ्चालक क्याप्टेन रवीन्द्र प्रसाद प्रधानको नाममा ३ करोड ४७ लाख, स्काइलाइन एयरवेजका सञ्चालक आङ छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, पेम्बा छिरिङ शेर्पा, तेन्जिङ नोर्बु शेर्पा, यादव खरेल, विक्रम पाँडे, केदारबहादुर प्रधानाङ्ग, उत्तम कृष्ण खरेलको नाममा ७ लाख ८० हजार र एयर काष्ठमण्डपका सञ्चालक प्रज्वल श्रेष्ठ, उज्लव श्रेष्ठ र हमाद अलि जावोर (कतार)ले गरी ७ लाख ३८ हजार बक्यौता रहेको छ।
चैत ६, २०७८ आइतबार १४:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।