कांग्रेसले चैतभित्रै स्थानीय तहको उम्मेदवार टुङ्ग्याउने

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको तर्फबाट स्थानीय तहका उम्मेदवारहरू चैत्र महिनाभित्रै टुङ्ग्याउने जानकारी दिएका छन्।
आइतबार नेपाल प्रेस युनियन सल्यान शाखाले आयोजना गरेको कार्यक्रममा उनले पार्टीको विधानमा पार्टीका विभिन्न तहका उम्मेदवारहरूको टुङ्गो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको जानकारी दिँदै उनले सोही प्रक्रिया अनुसार उम्मेदवार तोकिने दाबी गरे।
उनले यस पटक विगतमा जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म को उठ्ने भन्ने अन्योल नहुने दाबी गरे। निर्णय गर्ने प्रक्रिया विभिन्न तहमा विकेन्द्रीकृत भएकाले चैत्र महिनाभित्रै उम्मेदवारको टुङ्गो लगाउने उनले बताए।
पार्टीका तल्लो तहका समितिले टुङ्ग्याउन नसकेका विवाद मात्र केन्द्रले हेर्न सक्ने उनले बताए। उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकोले जो उठाउँदा बढी मत आउँछ त्यसैलाई प्राथमिकता दिएर उम्मेदवारी तय गर्न उपयुक्त हुने उनले बताए।
चैत ६, २०७८ आइतबार १३:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।