हुम्लाको लिमीमा निर्वाचनअघि नै चुनिए वडाध्यक्ष र सदस्य

हुम्लाको लिमीमा निर्वाचनअघि नै चुनिए वडाध्यक्ष र सदस्य
लिमीका स्थानीय । तस्बिर: नाम्खा गाउँपालिकाको वेभसाइट

हुम्लाः हुम्लाको नाम्खा गाउँपालिकाका लिमीबासीले निर्वाचनअघि नै वडाध्यक्ष र सदस्यहरू चुनेका छन्। चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरू चुनेका हुन्।

चयन भएका वडाध्यक्षमा नेपाली कांग्रेसका पाल्जोर तामाङ रहेका छन्। उनी दोस्रो कार्यकालका लागि दोहोरिएका हुन्। त्यस्तै सदस्यमा पुटी तामाङ, छिरिङ टुङडुप र टुङडुप लामा चयन भएको स्थानीय कुन्जोक तामाङले बताए।

उनका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरूको मात्रै मनोनयन दर्ता हुनेछ र उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ।

“गाउँलेहरूको भेलाले वडाध्यक्ष र सदस्य चुने र अब त्यसलाई प्रक्रिया पुर्याएर औपचारिकता दिन बाँकी छ”, उनले भने, “अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो।”

नाम्खा गाउँपालिका–६ का तीन गाउँमा तीन वटा मतदान केन्द्र रहेका छन्। यो क्षेत्रमा कुल पाँच सय ४१ मतदाता रहेका छन्।

यस्तै यस लिमी गाउँका नागरिकहरू हरेक वर्षको मङ्सिर महिनामा बैठक बसेर महत्त्वपूर्ण निर्णयहरू गर्दै आएका छन्। यो पटकको बैठकको एक मात्रै अजेण्डा आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्नु थियो। 

यहाँका स्थानीयको छुट्टै चलन छ। तीन गाउँको भेलाले गरेको निर्णयविपरीत यहाँ कोही जाँदैनन्। स्थानीयका अनुसार गाउँलेले चुनेको अध्यक्ष फरक हुन्छ भने सरकारी कामकाज र प्रक्रियाका लागि छुट्टै अध्यक्ष चयन हुन्छ।

सरकारी कामकाजका लागि चुनिने अध्यक्ष पनि गाउँले चुनेको अध्यक्षको निर्देशनानुसार चल्नुपर्छ।

चैत ६, २०७८ आइतबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।