केही नेताहरूको फरक अभिव्यक्ति आए पनि निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ: प्रचण्ड

केही नेताहरूको फरक अभिव्यक्ति आए पनि निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ: प्रचण्ड

पोखराः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच तालमेल हुने बताएका छन्। आइतबार बिहान प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अहिलेको राष्ट्रिय आवस्यकताले पाँच दलहरूको गठबन्धन बनेकाले पार्टीका मुल नेतृत्त्व र संस्थापन पक्षसँग आगामी निर्वाचनमा तालमेल गरेर जाने सहमति रहेको बताएका हुन्।

अध्यक्ष प्रचण्डले पार्टीहरूमा फरक–फरक विचारधाराका नेताहरू भएकाले केही नेताहरूको फरक अभिव्यक्ति आए पनि मुल नेतृत्त्वबीच निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको उनले बताए। 

माओवादीको बलिदान र संघर्षबाट बनेको संविधान,संघीयता लगायतका परिवर्तनको रक्षाका लागि गठबन्धनका दलबीच सहमति गरेर निर्वाचनमा जाने र परिवर्तनलाई उल्टाउन खोज्ने शक्तिलाई परास्त गर्न सहज हुने उनले बताए। उनले भने, ‘हामीले ल्याएको परिवर्तन एकथरि विचारधारालाई मन परेको छैन। गणतन्त्र, संघीयता र लोकतन्त्र लगायतका उपलब्धिलाई उसले उल्टाउने प्रयास गरिरहेको छ। संविधान प्रदत्त उपलब्धिको रक्षा गर्न पनि सत्ता साझेदार दलबीच तालमेल आवश्यक छ।’

प्रचण्डले माओवादी चुनावसँग नडराउने बताउँदै पार्टी आफ्नै खुट्टामा उभिने पनि बताए। उनले भने, 'माओवादी गठबन्धन होला र निर्वाचन जितिएला भन्ने पक्षमा छैन। आफ्नै खुट्टामा उभिने हो। जनतासँगको सम्बन्धलाई बलियो बनाउने हो। संघीय गणतन्त्र र संघियता माओवाादीको संघर्षले आएको हो। यसले जनताको हक अधिकार स्थापित गरेको छ। यो जनतालाई बुझाउन जरुरी छ।’

यस्तै एमसीसीको सन्दर्भमा उनले यो गहन अध्ययन र छलफलपछि मात्रै पास गरिएको पनि दावी गरे। उनले भने, ‘मेरो अध्यक्षतामा बसेको बैठकले एमसीसीको विषयमा गहन अध्ययन गर्नका लागि झलनाथ खनालको नेतृत्त्वमा अध्ययन गर्न समिति बनाएर त्यसले दिएको सुझावका आधारमा संशोधन गरेर अगाडि बढ्न छलफलमा सहमति भएकाले पछि केही बुँदा थप गरेर एमसीसी पारित गर्ने कुरा भएको हो। अन्तर्राष्ट्रिय कानूनका विज्ञहरूको सुझावपछि व्याख्यात्मक घोषणासहित पास गर्ने उपाय निकालेका हौँ।’

उनले आफ्नै पार्टीभित्र एमसीसीको विषयमा असन्तुष्ट नेताहरूसँग भने निर्वाचनपछि छलफल गर्ने पनि उल्लेख गरे। 

प्रचण्डले निर्वाचन तोकिएको समयमै हुने बताउँदै तयारीमा लाग्न सबैलाई आग्रह समेत गरेका छन्।

चैत ६, २०७८ आइतबार १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।