ओली गाली र खिसिट्युरी गर्न बाहेक केही जान्दैनन्ः माधव नेपाल

ओली गाली र खिसिट्युरी गर्न बाहेक केही जान्दैनन्ः माधव नेपाल

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली  गाली र खिसिट्युरी गर्न बाहेक केही नजान्ने बताएका छन्। गोरखामा आयोजित नेकपा एकीकृत समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “एमालेले जबजको मर्मलाई आत्मसाथ गरेको छैन। मानसम्मान गर्ने, सुसंस्कार र सुसंस्कृति हो, जबज,” ओलीका कारण त्यो सकिएको जिकिर गर्दै नेपालले भने, “ओलीमा गाली मात्रै छ। खिसिट्युरी बाहेक केही छैन।

उनले एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताए। “हामीले जनसेवाको भावनाले ओतप्रोत भएर गरिब र दीनदुःखी जनता, विपन्न, बेसहारा, दलित र अत्याचारमा परेका नेपाली तथा जुनसुकै वर्ग समुदायका देशभक्त नेपालीको हितको कल्याण गर्ने पार्टी निर्माण गर्नुपर्छ” उनले भने, “यो पवित्र भावले लाग्दाखेरी यो पार्टीको भविष्य रहन्छ।” 

अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको ओइरो लागेको बताउँदै आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर देशभर चलिरहेको छ भने। “नक्कली सोच र विचारले केही हुनेवाला छैन, अबको स्थानीय तहको चुनावले त्यसको फैसला गर्नेछ”, उनले भने, “एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढेको छ, समाजवाद, विकास र समृद्धिका निम्ति देशभक्तिको झण्डा उठाएका छौँ।”

चैत ५, २०७८ शनिबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।